काठमाडौं ।
स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पोरेसन (स्पेसएक्स)ले चौथो वायरलेस सेवा प्रदायकका लागि हजारौं सेल साइटहरू खोजिरहेको ब्लुमबर्ग न्युजले गत साता यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
इलन मस्कको रकेट तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स ले आफ्नो वायरलेस सेवा सुरु गर्न कम्तीमा ८०,००० सेल साइटहरू प्राप्त गर्नेबारे छलफल गरिरहेको उल्लेख छ।
यो रिपोर्ट स्पेसएक्सले आफ्ना दूरसञ्चार योजनाहरू अघि बढाउन ‘लो-ब्यान्ड स्पेक्ट्रम’ प्राप्त गरेको केही हप्तापछि आएको हो। यस कदमले अमेरिकाका स्थापित दूरसञ्चार कम्पनीहरूलाई अन्तरिक्ष (अर्बिटल) स्तरबाटै प्रत्यक्ष चुनौती दिएको छ, जसका कारण एटी एण्ड टी र भेराइजनको सेयर मूल्यमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो एकदिने गिरावट आएको छ।
स्पेसएक्सको ‘स्टारलिंक’ ले कम जनघनत्व भएका र ग्रामीण क्षेत्रहरूमा इन्टरनेट सेवामार्फत राजस्व आर्जन गरिरहेको छ, तर प्रमुख दूरसञ्चार सेवा प्रदायकहरूको वास्तविक प्रतिस्पर्धी बन्नका लागि यसलाई वर्षौँको मिहिनेत र जमिनमा आधारित सञ्जालको आवश्यकता पर्ने रोयटर्सले रिपोर्टमा भनेको छ।
स्पेसएक्सले अमेरिकाका सबैभन्दा ठूला सेल सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गरोस् भन्ने मस्क चाहन्छन्; तर ती दूरसञ्चार दिग्गजहरूको विशाल वायरलेस सञ्जालसँग बराबरी गर्न वर्षौं लाग्न सक्ने र अर्बौं डलर खर्च हुन सक्ने चेतावनी कार्यकारीहरू र विश्लेषकहरूले दिएका छन्।
स्पेसएक्सले सेल टावर सञ्चालक ‘क्राउन क्यासल’ सँग गरिरहेको भनिएको वार्ताले कम्पनीको महत्त्वाकांक्षा कति ठूलो छ भन्ने कुरालाई स्पष्ट रूपमा दर्शाउँछ।
कम्पनीले ८०,००० सेल साइटहरू स्थापना गर्ने लक्ष्य राखेको बताइएको छ; यदि यसो भएमा, यसको प्रस्तावित सञ्जाल हाल बजारमा रहेका तीन प्रमुख दूरसञ्चार कम्पनीहरूकै हाराहारीमा पुग्नेछ।
‘गोल्डम्यान स्याक्स’ का विश्लेषकहरूका अनुसार, भेराइजन, एटीएण्डटी र टी-मोबाइल ले अमेरिकाभरि करिब ६०,००० देखि ८०,००० सेल टावरहरूमा ठाउँ भाडामा लिएका छन्। त्यस्तै, ‘एसएनएल कागन’ को तथ्याङ्क अनुसार, अमेरिकाभरि परम्परागत सेल टावरहरूको कुल संख्या करिब १,७५,००० रहेको रिपोर्टहरुमा उल्लेख छ।
यसअघि एक डिलमार्फत करिब ८ अर्ब अमेरिकी डलरमा, मस्कको कम्पनीले ८०० मेगाहर्ज दायरामा १४ मेगाहर्जसम्मको ‘पेयर गरिएको’ लो-ब्यान्ड स्पेक्ट्रम अधिग्रहण गर्न सहमति जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८३, आईतवार