रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो मुद्दा

  • Technology Khabar | ७ कार्तिक २०८३, शनिबार
रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो  मुद्दा
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

अमेरिकाको रोड आइल्यान्ड राज्यका महान्यायाधिवक्ता पिटर एफ. नेरोन्हाले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापन गरेको विषयमा मेटाविरुद्ध मुद्दा दायर गरेका छन्।

मुद्दामा सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा हुने ठगीपूर्ण विज्ञापन रोक्न पर्याप्त काम नगरेको आरोप लगाइएको छ। त्यस्ता विज्ञापनबाट कम्पनीले आम्दानी गर्ने भएकाले मेटाले ठगी नियन्त्रण गर्न कडा कदम नचालेको पनि मुद्दामा दाबी गरिएको छ।

नेरोन्हाले भने, “रोड आइल्यान्ड र अमेरिकाका धेरै नागरिकसँग जोडिएको कम्पनीका लागि उपभोक्ता सुरक्षाको उच्च मापदण्ड कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ। आरोपअनुसार, मेटाले जोखिममा रहेका प्रयोगकर्तालाई जानीजानी ठगी र धोखाधडीको जोखिममा पारेको छ र त्यसबाट ठूलो नाफा कमाएको छ।

ठूला हुन् वा साना, कुनै पनि कम्पनीले रोड आइल्यान्डका उपभोक्ताको फाइदा उठाउँछन् भने तिनलाई जवाफदेही बनाउन हाम्रो कार्यालयले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सबै आवश्यक कदम चाल्नेछ।”

इन्ग्याजेटका अनुसार राज्यले दायर गरेको मुद्दाबारे सबैभन्दा पहिले समाचार प्रकाशित गरेको रोयटर्ससँगको कुराकानीमा मेटाका प्रवक्ता एन्डी स्टोनले कम्पनीले आफ्ना प्लेटफर्मबाट १५ करोड ९० लाखभन्दा बढी ठगीपूर्ण विज्ञापन हटाएको बताए।

स्टोनले भने, “महान्यायाधिवक्ताले रोड आइल्यान्डका नागरिकलाई ठगीबाट जोगाउन हामीले गरिरहेका कामबारे छलफल गर्न अस्वीकार गरे। त्यसको सट्टा उनले राज्यबाहिरको एउटा निजी कानुनी फर्मलाई नियुक्त गरेर मुद्दा तयार गराएका छन्, जसले ठगी नियन्त्रण गर्न हामीले दैनिक रूपमा गर्दै आएका विभिन्न कामलाई बेवास्ता गरेको छ।”

महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, कथित निष्क्रियतालाई लिएर मेटाविरुद्ध कदम चाल्ने रोड आइल्यान्ड पहिलो अमेरिकी राज्य हो। तर, यो विषयमा सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा परेको पहिलो घटना भने होइन। अमेरिकाको कन्ज्युमर फेडरेसनले अप्रिलमा मुद्दा दायर गरेको थियो भने क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीले पनि मे महिनामा मुद्दा दायर गरेको थियो।

रोयटर्सको सन् २०२५ को एक प्रतिवेदनअनुसार, मेटाका विभिन्न नेटवर्कमा देखिने ठगीपूर्ण विज्ञापनले कम्पनीलाई अर्बौँ डलर आम्दानी गराइरहेको हुन सक्छ। यस्तो आम्दानी कम्पनीको कुल राजस्वको १० प्रतिशतसम्म हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

मेटाले केही नक्कली विज्ञापन पछाडि रहेका व्यक्तिहरूविरुद्ध कारबाही गर्दै तिनका गतिविधि बन्द गराएको छ भने अन्य विज्ञापन सिर्जना गर्नेहरूविरुद्ध मुद्दासमेत दायर गरेको छ। कम्पनीले यस वर्षको सुरुतिर शङ्कास्पद सन्देशबाट प्रयोगकर्तालाई जोगाउन केही नयाँ सुरक्षा सुविधा पनि थपेको थियो।

प्रकाशित: ७ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार