काठमाडौं ।
स्पोटीफाईले ‘मेम्बरसिप्स’ नामक नयाँ सुविधा चरणबद्ध रूपमा सुरु गरेको छ। यस सुविधामार्फत पोडकास्ट सर्जकहरूले मासिक शुल्क लिएर विशेष सामग्री उपलब्ध गराउन सक्नेछन्।
यो सुविधा ३४ वटा बजारमा उपलब्ध गराइँदै छ। यसले सन् २०२१ मा सुरु गरिएको स्पोटीफाईको पोडकास्ट सदस्यता प्रणालीलाई प्रतिस्थापन गर्नेछ।
यस सेवामार्फत सर्जकहरूले शुल्क तिर्ने सदस्यलाई के-कस्ता सुविधा दिने भन्ने निर्णय आफैँ गर्न सक्नेछन्। यसमा विशेष अडियो वा भिडियो एपिसोड, अतिरिक्त सामग्री, कम विज्ञापन, नयाँ एपिसोडमा अग्रिम पहुँच वा पोडकास्टका सबै पुराना एपिसोड सुन्न पाउने सुविधालगायत समावेश हुन सक्छन्।
टेलिग्राफका अनुसार सर्जकहरूले आम्दानीका लागि बढीमा तीनवटा सदस्यता तह बनाउन सक्नेछन्। प्रत्येक तहको मूल्य फरक राख्न सकिनेछ। स्पोटीफाईले सदस्यताको मूल्य तोकेको छैन। तर, कम्पनीले सार्वजनिक गरेका उदाहरणमा सात दिनको निःशुल्क परीक्षणसहित मासिक ४.९९ अमेरिकी डलरको सदस्यता पनि समावेश छ। द टेलिग्राफले जनाएको छ।
निःशुल्क र प्रिमियम दुवै प्रकारका प्रयोगकर्ताले स्पोटीफाईमा पोडकास्टको पृष्ठबाट सदस्यताका विकल्प हेर्न र एप नछोडी विशेष सामग्री सुन्न सक्नेछन्। तर, भुक्तानी भने एपभित्रबाट नभई वेबसाइटमार्फत गर्नुपर्नेछ। एप्पल र गुगलले लिन सक्ने कमिसनबाट बच्न यस्तो व्यवस्था गरिएको हुन सक्ने अनुमान छ।
सदस्यहरूले एपिसोडमा टिप्पणी गर्दा आफ्नो सदस्यता जनाउने विशेष चिह्न देखाउन सक्नेछन्। त्यस्तै, सर्जकहरूले छोटा भिडियोमार्फत नयाँ सदस्यलाई स्वागत गर्न सक्नेछन्।
यस सेवाको मुख्य विशेषतामध्ये आम्दानी बाँडफाँट पनि एक हो। सर्जकहरूले सदस्यताबाट हुने आम्दानीको ९० प्रतिशत हिस्सा पाउनेछन्। स्पोटीफाईले यस सुविधालाई विज्ञापन, प्रायोजन र स्पोटीफाई पार्टनर प्रोग्रामसँगै सामग्रीबाट आम्दानी गर्ने अर्को माध्यमका रूपमा अघि बढाउन चाहेको छ।
प्लेटफर्मले सर्जकहरूलाई लक्षित प्रचार, निःशुल्क परीक्षण, कुन गतिविधिबाट बढी सदस्य प्राप्त भइरहेका छन् भन्ने बुझ्न विश्लेषणात्मक विवरण र सदस्यहरूको तथ्याङ्क निर्यात गर्ने सुविधा पनि उपलब्ध गराउनेछ। यो तथ्याङ्कमा आफ्नो सम्पर्क विवरण साझा गर्न सहमत भएका श्रोताहरूको जानकारीसमेत हुन सक्छ।
यो सेवा प्रयोग गर्न पोडकास्ट स्पोटीफाई फर क्रिएटर्स वा मेगाफोनमार्फत प्रकाशित गरिएको हुनुपर्छ। साथै, त्यसमा कम्तीमा तीनवटा प्रकाशित एपिसोड, १०० जना श्रोता वा दर्शक र पछिल्लो ३० दिनमा स्पोटीफाईमा सामग्री उपभोग गरिएको कम्तीमा १०० घण्टा हुनुपर्नेछ।
यो सुविधा प्रयोग गर्ने सुरुवाती पोडकास्टहरूमा ‘द एडम फ्रिडल्यान्ड शो’, ‘मेकिङ सेन्स विथ साम ह्यारिस’, ‘द शोन रायन शो’ र वाईएमएच स्टुडियोको नेटवर्क रहेका छन्। वाईएमएच स्टुडियोले आफ्ना १२ वटा पोडकास्टमा यो सेवा उपलब्ध गराउनेछ।
सुरुमा यो सुविधा अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, आयरल्यान्ड, इटाली, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सिंगापुर, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकासहित ३४ वटा बजारमा उपलब्ध हुनेछ।
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार