काठमाडौं ।
अमेरिकी नेटवर्क निगरानी कम्पनी केन्टिकको विश्लेषणअनुसार साइबर आक्रमणका कारण उत्तर कोरियाको इन्टरनेट सेवामा पटकपटक अवरोध आएको हुन सक्छ। यसका कारण यो साता देशका राज्यनियन्त्रित केही वेबसाइटहरू बन्द भएका थिए।
केन्टिकका इन्टरनेट विश्लेषण निर्देशक डग म्याडोरीले शुक्रबार रोयटर्सलाई बताएअनुसार मंगलबारदेखि सुरु भएको ३२ घण्टाको अवधिमा उत्तर कोरियाका धेरै वेबसाइटमा अवरोध देखिएको थियो। यही समयमा उत्तर कोरियाको इन्टरनेटमा भियतनाम र फिलिपिन्सलगायतका स्थानबाट पटकपटक ठूलो मात्रामा ट्राफिक आएको थियो।
“यो ट्राफिक एकै समयमा सुरु भएको थियो र भियतनाम तथा भेनेजुएलाबाट आइरहेको थियो। यो निश्चित रूपमा डीडीओएस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) आक्रमण हो,” उनले भने।
केन्टिकको तथ्यांकअनुसार, मंगलबार स्थानीय समय बिहान करिब ११ बजे (ग्रिनविच समयअनुसार ०२:०१ बजे) इन्टरनेट ट्राफिकमा तीव्र वृद्धि सुरु भएको थियो। तर, आक्रमण कसले गरेको हो भन्ने तथ्यांकबाट खुल्न नसकेको म्याडोरीले बताए।
उनका अनुसार, केन्टिकले उत्तर कोरियातर्फ पठाइएको ट्राफिकको केही हिस्साको मात्र विश्लेषण गरेको थियो।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार, उत्तर कोरियाको ‘.kp’ डोमेन प्रयोग गर्ने ४० भन्दा बढी आधिकारिक वेबसाइटमा अवरोध आएको थियो। अवरुद्ध हुने वेबसाइटमा त्यहाँको विदेश मन्त्रालय र सरकारी समाचार एजेन्सी केसीएनए पनि थिए।
दक्षिण कोरियाली सञ्चारमाध्यमले सुरक्षा विशेषज्ञहरूलाई उद्धृत गर्दै उत्तर कोरियाको विद्युत् आपूर्तिमा हुने अस्थिरताका कारण पनि यस्तो अवरोध आएको हुन सक्ने बताएका थिए। साताको पछिल्लो समयमा पीएचपी प्रोग्रामिङ भाषामा रहेका कमजोरी सार्वजनिक भएपछि विश्वव्यापी इन्टरनेट सेवामा देखिएका समस्यासँग भने यो अवरोध सम्बन्धित नरहेको देखिएको थियो।
कडा सरकारी नियन्त्रणमा रहेको उत्तर कोरियाको इन्टरनेट नेटवर्क यसअघि पनि पूर्ण रूपमा अवरुद्ध भएको थियो। सन् २०१४ को अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ उनको काल्पनिक हत्यामा आधारित सोनी पिक्चर्सको हास्य चलचित्रलाई लिएर विवाद उत्पन्न भएपछि उत्तर कोरियाको इन्टरनेट सेवा केही घण्टाका लागि पूर्ण रूपमा बन्द भएको थियो।
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार