जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने

  • Technology Khabar | ५ कार्तिक २०८३, बिहीबार
जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने

काठमाडौं ।

दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ। जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबीच ठूलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात केही महिनाका लागि मात्र पर्याप्त हुन सक्छ।

इट्रियम उपभोक्ता इलेक्ट्रोनिक्स, एलईडी, विमानका इन्जिन, अर्धचालक उत्पादनमा प्रयोग हुने उपकरण तथा विभिन्न औद्योगिक सामग्री निर्माणका लागि महत्वपूर्ण तत्व हो। यसको आपूर्ति प्रभावित हुँदा प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने देखिएको छ।

जापानको उद्योग मन्त्रालयका एक अधिकारीले बुधबार एएफपीसँग कुरा गर्दै इट्रियमको निर्यात जापानमा मात्र नभई विश्वव्यापी रूपमै ठप्प भएको बताए। उनका अनुसार, ढुवानीमा ढिलाइ, निर्यातमा कमी र बजारमा उपलब्धता घट्दा यसको मूल्यसमेत अत्यधिक बढेको छ।

‘फाइनान्सियल टाइम्स’को रिपोर्टअनुसार, जापानसँग रहेको इट्रियमको मौज्दात अब केही महिनामै सकिन सक्छ। चिनियाँ भन्सार तथ्याङ्कअनुसार, जापानतर्फ चीनबाट हुने इट्रियम अक्साइडको निर्यात गत सेप्टेम्बरमा चार हजार किलोग्राममा झरेको थियो। अघिल्लो वर्षको सोही महिनामा यस्तो निर्यात ५१ हजार किलोग्राम थियो।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, विश्वको दुर्लभ माटो उत्खननको करिब दुई तिहाइ र प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ। यसले दुर्लभ खनिजको आपूर्तिमा चीनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ।

जापानले इट्रियमलगायत महत्वपूर्ण खनिजको वैकल्पिक आपूर्ति सुनिश्चित गर्न अमेरिका र युरोपेली राष्ट्रहरूसँग सहकार्य गरिरहेको उद्योग मन्त्रालयका अधिकारीले बताएका छन्।

यसैबीच, चीन र जापानबीच ताइवानको विषयलाई लिएर तनाव बढिरहेका बेला दुर्लभ खनिजको आपूर्ति थप संवेदनशील बनेको छ। जापानी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी सानाए ताकाइचीले यसअघि इट्रियमलाई जापानका लागि महत्वपूर्ण दुर्लभ खनिज बताएकी थिईन्।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार जापानको पुनः सैन्यीकरण र आणविक हतियार प्राप्त गर्ने प्रयासलाई रोक्ने उद्देश्यले कानुन तथा नियमअनुसार निर्यात नियन्त्रण लागू गरिएको बताइन्।

‘फाइनान्सियल टाइम्स’का अनुसार, जापानले अमेरिकी सरकार र उद्योग क्षेत्रसँग चीनको निर्यात नियन्त्रण खुकुलो पार्न पहल गर्न आग्रह गरेको छ। जापानी पार्टपुर्जामा निर्भर अमेरिकी रक्षा आपूर्ति शृङ्खलासहित मोटरगाडी, रक्षा र चिप उद्योगमा सम्भावित अवरोध कम गर्नु यसको उद्देश्य रहेको बताइएको छ।

इट्रियमको आपूर्ति सङ्कट लम्बिएमा जापानका प्रविधि तथा औद्योगिक क्षेत्र प्रभावित हुन सक्ने चिन्ता बढेको छ। रासस/एएफपी

प्रकाशित: ५ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार