काठमाडौं ।
अमेरिकाले विदेशमा बनेका नयाँ राउटरको बिक्रीमा प्रतिबन्ध लगाएपछि टीपी–लिङ्कले अमेरिकामै राउटर एसेम्बल गर्ने तयारी गरेको छ। कम्पनीले उत्पादक कम्पनी की ट्रोनिकसँग आशयपत्रमा हस्ताक्षर गरेको छ।
नियामक निकायको स्वीकृति पाएमा सन् २०२७ को सुरुवातदेखि मिसिसिपीस्थित उत्पादन केन्द्रमा राउटर एसेम्बल गर्ने काम सुरु हुन सक्ने कम्पनीले जनाएको छ।
इन्ग्याजेटका अनुसार उत्पादन सुरु भएपछि की ट्रोनिकले टीपी–लिङ्कका उत्पादनमध्ये सुरुमा वाइफाइ ८ राउटर एसेम्बल गर्ने अपेक्षा गरिएको छ। टीपी–लिङ्कले यो सम्झौता अमेरिकामा उच्च प्रविधियुक्त उत्पादनमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र अमेरिकी भूमिमै आगामी पुस्ताका उत्पादनको डिजाइन तथा एसेम्बल गर्ने दीर्घकालीन प्रयासको हिस्सा भएको बताएको छ।
यद्यपि, कम्पनीले आवश्यक पार्टपुर्जा अमेरिकाबाहिरबाटै ल्याउनुपर्ने जनाएको छ। टीपी–लिङ्कका कर्पोरेट मामिला अधिकारी स्टिभ कोभस्कीले पीसी म्यागलाई भने, “धेरै पार्टपुर्जा अमेरिकाभित्रै उपलब्ध छैनन्। यो टीपी–लिङ्कको मात्र समस्या होइन। उत्पादन अमेरिका भित्र्याउन खोजिरहेका सबै उत्पादकले सामना गरिरहेको समस्या हो।”
गत मार्चमा अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले अमेरिकाबाहिर बनेका सबै उपभोक्ता राउटरलाई सुरक्षाका लागि जोखिमयुक्त ठहर गर्दै तिनको आयातमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, खुद्रा विक्रेताहरूलाई पसलमा पहिलेदेखि मौज्दात रहेका राउटर बिक्री गर्न अनुमति दिइएको थियो।
एफसीसीले जारी गरेको सूचनाअनुसार कम्पनीहरूले प्रतिबन्धबाट छुट पाउन निवेदन दिन सक्नेछन्। तर, त्यसका लागि उनीहरूले उत्पादनको कम्तीमा केही हिस्सा अमेरिकामा सार्ने योजना बनाउनुपर्नेछ।
धेरै कम्पनीले यस्तो छुट पाइसकेका छन्। तर, टीपी–लिङ्कले भने हालसम्म छुट पाएको छैन।
प्रकाशित: ५ कार्तिक २०८३, बिहीबार