काठमाडौं ।
ह्वाट्सएपले नियमित रूपमा यो एप प्रयोग नगर्ने व्यक्तिसँग पनि सञ्चार गर्न सहज बनाउँदैछ।
ह्वाट्सएपको स्वामित्व रहेको मेटा कम्पनीले नयाँ सुविधा ल्याएको छ। यस सुविधामार्फत ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि कलमा सहभागी हुन सक्नेछन्।
‘गेस्ट कलिङ’ नाम दिइएको यो सुविधाले प्रयोगकर्तालाई लिंक पठाएर अन्य व्यक्तिलाई कलमा आमन्त्रण गर्न दिन्छ। आमन्त्रित व्यक्तिले एप डाउनलोड नगरी वा खाता नखोली वेब ब्राउजरबाटै उक्त लिंक खोलेर कलमा सहभागी हुन सक्छन्।
तर, कलको लिंक भने ह्वाट्सएपमा खाता भएका व्यक्तिले मात्रै बनाउन सक्छन्। कलमा सहभागी हुन चाहने अतिथिले आयोजकले अनुमति नदिएसम्म प्रतीक्षाकक्षमा बस्नुपर्छ। आयोजकले चाहेको समयमा उनीहरूलाई कलबाट हटाउन पनि सक्छन्।
टेलिग्राफका अनुसार आमन्त्रित व्यक्तिले व्यक्तिगत वा समूहगत कलमा सहभागी हुन सक्छन्। यस्तो कलमा बढीमा ३२ जना सहभागी हुन पाउँछन्। उनीहरूले आफ्नो स्क्रिन साझा गर्न, इमोजीमार्फत प्रतिक्रिया दिन र बोल्नका लागि हात उठाउन सक्छन्।
यी कल निःशुल्क हुनेछन्, सुरुदेखि अन्त्यसम्म इन्क्रिप्सनमार्फत सुरक्षित गरिएका हुनेछन् र समयको कुनै सीमा हुनेछैन।
गोपनीयताका कारण अतिथिले कलमा सहभागी अन्य व्यक्तिका फोन नम्बर हेर्न, सन्देश पठाउन वा नयाँ व्यक्तिलाई कलमा थप्न सक्ने छैनन्।
यो सुविधा प्रयोग गर्न ह्वाट्सएप प्रयोगकर्ताले कल्स सेक्सन खोल्नुपर्छ, ‘+’ चिह्न छान्नुपर्छ, लिंक बनाउनुपर्छ र आफूले आमन्त्रण गर्न चाहेका व्यक्तिलाई उक्त लिंक पठाउनुपर्छ।
कम्पनीले यसै वर्षको अन्त्यतिर गुगल क्यालेन्डर र आउटलुकसँग पनि यो सुविधा जोड्ने योजना रहेको जनाएको छ। यसले प्रयोगकर्तालाई क्यालेन्डरबाटै ह्वाट्सएप कलका लिंक बनाउन र बैठकको निमन्त्रणामा समावेश गर्न सहज बनाउनेछ।
यो नयाँ सुविधा व्यक्तिगत र व्यावसायिक सञ्चारका लागि ह्वाट्सएपलाई अझ सहज र सबैको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएका अद्यावधिकमध्ये एक हो।
प्रकाशित: २ कार्तिक २०८३, सोमबार