वेमोले पायो क्यानडामा सेवा विस्तार गर्ने अनुमति

  • Technology Khabar | २ कार्तिक २०८३, सोमबार
वेमोले पायो क्यानडामा सेवा विस्तार गर्ने अनुमति

काठमाडौं ।

अल्फाबेटको स्वचालित रूपमा चल्ने कारसम्बन्धी एकाइ वेमोले क्यानडाको ओन्टारियो प्रान्तको स्वचालित सवारीसाधन परीक्षण कार्यक्रममा सहभागी हुन अनुमति पाएपछि आफ्नो सेवा क्यानडामा विस्तार गर्ने भएको छ।

तर कम्पनीले तत्कालै रोबोट्याक्सी सेवा सुरु गर्न लागेको भने होइन। वेमोले नयाँ सहरमा सेवा विस्तार गर्दा सामान्यतया एउटै प्रक्रिया अपनाउने गरेको छ। यसअन्तर्गत सुरुमा सवारीसाधन आफैँ चलाएर सडकको नक्साङ्कन गरिन्छ, त्यसपछि परीक्षण गरिन्छ र अन्त्यमा व्यावसायिक सेवा सञ्चालन गरिन्छ।

वेमोले शुक्रबार आफ्नो ब्लग पोस्टमार्फत टोरन्टोका सडक सञ्जालको उच्च विवरणयुक्त नक्सा तयार पार्न आफ्ना स्वचालित सवारीसाधन मानिसले चलाउने जनाएको छ। त्यसपछि कम्पनीले सार्वजनिक सडकमा सवारीसाधनको परीक्षण गर्नेछ, जसमा सुरक्षाका लागि एक जना चालक पनि सवार हुनेछन्।

पछि ती चालकलाई चालकको सिटबाट हटाइनेछ र त्यसपछि कम्पनीले सर्वसाधारणलाई आफ्नो रोबोट्याक्सीमा यात्रा गर्ने अवसर दिनेछ।

क्यानडामा वेमोको विस्तार नयाँ बजारमा तीव्र गतिमा सेवा विस्तार गर्ने कम्पनीको योजनाको एक हिस्सा हो। दुई वर्षअघि कम्पनीले केवल तीनवटा बजारमा व्यावसायिक सेवा सञ्चालन गरिरहेको थियो र त्यसका रोबोट्याक्सीले राजमार्गमा समेत यात्रा गर्न थालेका थिएनन्।

टेकक्रञ्चका अनुसार कम्पनीले सन् २०२५ को मार्चमा अस्टिनमा सेवा विस्तार गर्दै नयाँ बजारमा प्रवेश गरेको थियो। त्यसपछि एटलान्टामा पनि विस्तार गरिएको थियो। अहिले कम्पनीले अमेरिकाका १५ सहरमा रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ भने लन्डन र टोकियोमा पनि परीक्षण गरिरहेको छ।

कम्पनीकी सहप्रमुख कार्यकारी अधिकृत टेकेद्रा मावाकानाले क्यानडामा विस्तार हुनु कम्पनीको विश्वव्यापी यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। टोरन्टो वेमोले अहिलेसम्म सेवा सञ्चालन गर्न खोजेका सहरमध्ये सबैभन्दा उत्तरी र सम्भवतः सबैभन्दा बढी जाडो हुने सहर पनि हो। त्यसैले यहाँको मौसम र वातावरणले कम्पनीको स्वचालित सवारीसाधन प्रविधि तथा सञ्चालन क्षमताको परीक्षण गर्नेछ।

तीव्र विस्तार रणनीतिअन्तर्गत वेमोले प्रत्येक सहरमा आफ्नो सवारीसाधनको व्यवस्थापन गर्न तेस्रो पक्षका कम्पनीसँग साझेदारी गर्न थालेको छ। टोरन्टोमा पनि कम्पनीले स्थानीय कम्पनी एलिमेन्ट फ्लीट म्यानेजमेन्टसँग साझेदारी गरेको जनाएको छ।

यस साझेदारीबाट सवारीसाधनको मर्मतसम्भार, परीक्षणका लागि सवारी चलाउने, ग्राहक सेवा र सञ्चालनजस्ता क्षेत्रमा सयौँ रोजगारीलाई सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

प्रकाशित: २ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...