भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • Technology Khabar | १ कार्तिक २०८३, शनिबार
भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

काठमाडौं ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जनाएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रहेका छन्। ती सामग्रीको वैध भन्सार कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामग्री तथा अन्य सामान भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ। बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। रासस

प्रकाशित: १ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...