एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा

  • Technology Khabar | १ कार्तिक २०८३, शनिबार
एआईको माग बढ्दा टीएसएमसीले लगातार छैटौँ त्रैमासिकमा कमायो कीर्तिमानी मुनाफा

काठमाडौं ।

विश्वकै ठूलो उन्नत एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले प्रविधि क्षेत्रमा पूर्वाधारमा लगानी बढेसँगै लगातार छैटौँ त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको छ।

टीएसएमसीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खुद नाफा ६९ प्रतिशतले बढेर ७ खर्ब ६३ अर्ब १० करोड ताइवानी डलर पुगेको छ।

यो रकम करिब २३ अर्ब ५९ करोड अमेरिकी डलर बराबर हो। १६ जना विश्लेषकको अनुमानमा आधारित एलएसईजी स्मार्टएस्टिमेटले कम्पनीको नाफा ७ खर्ब ४६ अर्ब ३० करोड ताइवानी डलर हुने अनुमान गरेको थियो।

यो कम्पनीको हालसम्मकै उच्च त्रैमासिक खुद नाफा हो। यससँगै कम्पनीको नाफा वृद्धि लगातार ११औँ त्रैमासिकमा पनि कायम भएको छ।

एआई चिप उत्पादन गर्ने क्षमता र कोडब्लूओएस नामक उन्नत चिप प्याकेजिङ प्रविधिप्रति बजारको माग बलियो रहेको विश्लेषकहरूले बताएका छन्।

कम्पनीले गत साता सार्वजनिक गरेको विवरणअनुसार तेस्रो त्रैमासिकमा उसको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढेको थियो। आम्दानी बजारको अनुमानभन्दा बढी रहँदै नयाँ कीर्तिमानमा पुगेको थियो।

टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा चिप कारखाना निर्माण गर्न २ खर्ब ६५ अर्ब अमेरिकी डलर लगानी गरिरहेको छ। यसमा गत जुलाईमा घोषणा गरिएको थप १ खर्ब अमेरिकी डलरको लगानी पनि समावेश छ। रोयटर्सका अनुसार कम्पनीले टेक्सासमा सम्भावित लगानीबारे पनि अध्ययन गरिरहेको छ।

रोयटर्सका अनुसार टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत साता आफ्ना कम्पनीहरूले टेराफ्याब नामक एआई चिप उत्पादन केन्द्र निर्माण गरी सञ्चालन गर्ने बताएका थिए। उक्त केन्द्रको केही भाग टीएसएमसीले भाडामा लिन सक्ने सम्भावना पनि छ।

टीएसएमसीले यस वर्षका लागि पुँजीगत खर्चको अनुमान बढाएर ६० अर्बदेखि ६४ अर्ब अमेरिकी डलर पुर्‍याएको छ। यसअघि कम्पनीले ५२ अर्बदेखि ५६ अर्ब डलरसम्म खर्च गर्ने अनुमान गरेको थियो।

एआई चिप र उन्नत सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने उपकरण बनाउने विश्वकै ठूलो कम्पनी एएसएमएलले बुधबार आफ्ना ग्राहकले सन् २०२९ र २०३० का लागि समेत उपकरणको अर्डर दिन खोजिरहेको बताएको थियो। यसले एआई क्षेत्रमा भइरहेको लगानीको गति सुस्त हुँदै गएको भन्ने चिन्ता कम गरेको छ।

ताइपेईमा सूचीकृत टीएसएमसीको सेयर मूल्य यस वर्ष हालसम्म ५७ प्रतिशत बढेको छ। यही अवधिमा ताइवानको समग्र सेयर बजार सूचकांक ६२ प्रतिशत बढेको छ। तर, नाफाको विवरण सार्वजनिक हुनुअघि बिहीबार कम्पनीको सेयर मूल्य २ प्रतिशत घटेको थियो। सो दिन समग्र सूचकांक पनि ३.४ प्रतिशत घटेको थियो।

एआई चिपको बलियो मागबाट लाभ लिइरहेको टीएसएमसीको बजार पुँजीकरण करिब २ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यसले कम्पनीलाई एसियाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये अग्रस्थानमा राखेको छ।

प्रकाशित: १ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार