काठमाडौं ।
अब दूरसञ्चार सम्बन्धी सेवा प्रदायक संस्थाहरुले स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तिर्नुपर्ने रकम वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल राष्ट्रबैंकले हालै ‘एकीकृत परिपत्र २०८२’ मा संशोधन गर्दै यस्तो प्रावधान राखेको हो। यसअघि सोही कामका लागि वार्षिक १ लाख डलरसम्म मात्र भुक्तानी गर्न सकिने प्रावधान थियो।
‘नेपाली दूरसञ्चार सम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा देहायका कागजात लिई भाडा बापत वार्षिक अमेरिकी डलर १ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय डलर ५ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय सस्था स्वयम्ले गर्न सक्नेछन्’,संशोधनमा उल्लेख छ।
यसैगरी दूरसञ्चार सेवा प्रदायकहरुले नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसको आधारमा आवश्यक कागजातहरु लिई आएमा प्रति पटक डलर ३०,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। यो सुविधा हालसम्मका लागि भने १५ हजार डलरसम्मका लागि मात्र उपलब्ध थियो।
प्रति पटक अमेरिकी डलर ३०,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीको लागि भने नियामक निकायको सिफारिस सहित विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ। यो प्रावधान हालसम्म १५ हजार डलरभन्दा माथिको सटहीका लागि नै आवश्यक थियो।
साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रति पटक अमेरिकी डलर ८,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीको लागि समेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्ने उल्लेख छ।
प्रकाशित: २१ आश्विन २०८३, बुधबार