काठमाडौं ।
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।
अदालतले उनलाई ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला समेत गरेको छ। त्यस्तै सोही रकम बराबरको सम्पत्ति गैरकानुनी ठहर गर्दै अदालतले उक्त सम्पत्ति जफत गर्ने आदेश समेत दिएको छ।
पौडेलको खूद वैध आय ४ करोड १६ लाख ७९ हजार १८ रुपैयाँ २७ पैसा भए पनि ४६ करोड ११ लाख ५२ हजार ३०१ रुपैयाँ १२ पैसा रहेको अदालतको फैसलामा उल्लेख छ।
पौडेलले जाँच अवधिमा आर्जन गरेको खूद व्ययभन्दा ४१ करोड ९२ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा बढी देखिएकोले सो बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको अदालतको ठहर छ।
पौडेल सरकारी सेवामा रहेको र उनले अनुमतिविना बाहिर काम गरी कमाएको देखिएकाले उक्त सम्पत्तिलाई वैध मान्न नमिल्ने विशेष अदालतले भनेको छ।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार