२३ महिनामै यसरी निर्माण भयो विश्वको पहिलो उन्नत जियोथर्मल विद्युत् प्लान्ट

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
२३ महिनामै यसरी निर्माण भयो विश्वको पहिलो उन्नत जियोथर्मल विद्युत् प्लान्ट
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

जियोथर्मल ऊर्जा कम्पनी फर्भो इनर्जीले बिहीबार आफ्नो केप स्टेसन पावर प्लान्टबाट सेप्टेम्बर ३० देखि विद्युत् ग्रिडमा बिक्री गर्न थालेको जनाएको छ। यो निर्धारित समयभन्दा एक दिन अगाडि हो।

यससँगै फर्भो व्यावसायिक रूपमा महत्वपूर्ण चरणमा पुग्ने पहिलो उन्नत जियोथर्मल कम्पनी बनेको छ। पावर प्लान्ट करिब एक साताअघि विद्युत् ग्रिडसँग जोडिएको थियो। यसबाट चाँडै १०० मेगावाट क्षमताको बन्ने प्लान्टको पहिलो एकतिहाइ भाग सञ्चालनमा आएको छ।

फर्भोका अनुसार भने पूरा परियोजना अझ ठूलो हुन सक्छ। यसबाट ४ गिगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको कम्पनीले यसअघि टेकक्रन्चलाई बताएको थियो।

“विश्वमा यसअघि कुनै पनि टोलीले यस्तो परियोजना बनाएको थिएन र हामीले यसलाई निर्धारित समयभन्दा अगाडि पूरा गरेका छौं,” फेर्भोका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम ल्याटिमरले विज्ञप्तिमा भने।

टेकक्रञ्चका अनुसार निर्माण सुरु गरेको समयदेखि व्यावसायिक सञ्चालनसम्म केप स्टेसनको पहिलो ब्लक पूरा गर्न २३ महिना लागेको थियो। आफ्नो प्रक्रिया थप सुधार गर्दै फर्भोले आगामी ब्लकहरू १८ महिनामै पूरा गर्ने लक्ष्य राखेको छ।

यस्तो छिटो विद्युत् उत्पादन सुरु गर्ने क्षमता विद्युत् अभाव सामना गरिरहेका डाटा सेन्टर सञ्चालकका लागि उपयोगी हुन सक्छ। डाटा सेन्टर सञ्चालकहरू विद्युत् उत्पादन क्षमता खोज्न ऊर्जा क्षेत्रका विभिन्न विकल्पतर्फ गइरहेका छन्। जियोथर्मल ऊर्जा पनि चरणबद्ध रूपमा विकास गर्न सकिन्छ। डाटा सेन्टर निर्माणमा जस्तै माग बढ्दै जाँदा हाइपरस्केलर कम्पनीहरूले क्रमशः थप सर्भर र्याक सञ्चालनमा ल्याउन सक्छन्।

गुगल, सदर्न क्यालिफोर्निया एडिसनलगायत कम्पनीले फर्भोको केप स्टेसन परियोजनाबाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।

फर्भो उन्नत जियोथर्मल पावर प्लान्ट विकास गरिरहेका केही कम्पनीमध्ये एक हो। परम्परागत जियोथर्मल विद्युत् उत्पादनमा जमिनको सतह नजिक रहेका ताप स्रोतको प्रयोग गरिन्छ। तर फर्भो र अन्य कम्पनीहरूले अझ गहिरो क्षेत्रमा ड्रिलिङ गरिरहेका छन्। गहिराइमा चट्टान बढी तातो हुने भएकाले यसले जियोथर्मल ऊर्जा विकासका थप अवसर खोल्छ।

फर्भो मे महिनामा सार्वजनिक कम्पनी बनेको थियो। कम्पनीले १ अर्ब ९० करोड डलर जुटाएको आईपीओ जारी गरेको थियो। सन् २०१७ मा स्थापना भएको फर्भोले तेल तथा ग्यास क्षेत्रमा प्रयोग हुने ड्रिलिङ प्रविधि र प्रविधिगत ज्ञानलाई नयाँ जियोथर्मल स्रोतको विकासमा प्रयोग गर्दै आएको छ।

स्टार्टअपका रूपमा कम्पनीले ब्रेकथ्रु इनर्जी भेन्चर्स, कन्ग्रुएन्ट भेन्चर्स र क्याप्रिकर्न इन्भेस्टमेन्ट ग्रुपलगायत लगानीकर्ताबाट १ अर्ब ३० करोड डलरभन्दा बढी लगानी जुटाएको थियो।

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार