पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक ट्राफिक कारबाहीमा

  • Technology Khabar | १४ आश्विन २०८३, बुधबार
पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक ट्राफिक कारबाहीमा
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालकलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा जाँचका क्रममा कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६०, सिसीटिभीबाट पहिचान भएका ५३, सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ र तीव्रगतिमा सवारी चलाउने ९३ जना छन्।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँच जनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ।

अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ। सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ।

सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारीमात्र नभई पैदलयात्रीको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ।–रासस

प्रकाशित: १४ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...