काठमाडौं ।
स्पेसएक्स, टेस्ला र एक्सका मालिक इलन मस्कमाथि आधारित रहेर निर्देशक एलेक्स गिब्नीले बनाएको आगामी डकुमेन्ट्रीका लागि विज्ञापन देखाउन अस्वीकार गरेका दुई कम्पनीले आफ्नो निर्णय परिवर्तन गरेका छन्।
द हलिउड रिपोर्टरले शुक्रबार प्रकाशित गरेको एक समाचारअनुसार टिकटक, मेटा, युट्युब र एक्सले ‘डकुमेन्ट्री मस्क’को ट्रेलरका लागि पेड विज्ञापन स्वीकार गर्न अस्वीकार गरेका थिए।
मेटाका प्रवक्ताले विज्ञापन अस्वीकार हुनु त्रुटि भएको बताएका छन्। कम्पनीले विज्ञापन फेरि स्वीकृत गरेर प्रसारणका लागि खुला गरेको तर टेकक्रन्चले रिपोर्टमा भनेको छ।
युट्युबले पनि उक्त ट्रेलर आफ्नो प्लेटफर्ममा सधैँ उपलब्ध रहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार ट्रेलरलाई विज्ञापनका रूपमा पेश गर्दा अस्थायी रूपमा प्रतिबन्ध लगाए पनि समीक्षा गरेपछि विज्ञापन प्रकाशनका लागि स्वीकृत गरिएको हो।
रिपोर्टअनुसार मेटा, टिकटक र युट्युबले ट्रेलरको विज्ञापनलाई राजनीतिक कन्टेन्टका रूपमा वर्गीकरण गरेका थिए। यी प्लेटफर्ममा राजनीतिक कन्टेन्टका लागि अन्य विज्ञापनको तुलनामा फरक तथा कडा नियमहरू लागू हुन्छन्।
चलचित्रको ट्रेलरलाई राजनीतिक विज्ञापनका रूपमा किन वर्गीकरण गरियो भन्ने कुरा स्पष्ट भएको छैन।
‘मस्क’ डकुमेन्ट्रीका निर्देशक एलेक्स गिब्नी गोइङ क्लियर र द इन्भेन्टरजस्ता चर्चित डकुमेन्ट्रीका लागि परिचित छन्। डकुमेन्ट्रीको पहिलो प्रदर्शन भेनिस फिल्म फेस्टिभलमा भएको थियो जहाँ यसले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
टेलिग्राफका अनुसार करिब चार घण्टा लामो डकुमेन्ट्रीमा इलन मस्कको प्रविधि क्षेत्रमा रहेको करियर, डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र उनको व्यक्तिगत जीवनलाई समेटिएको छ।
यो डकुमेन्ट्री अक्टोबर ९ देखि अमेरिकाका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
प्रकाशित: १४ आश्विन २०८३, बुधबार