
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी एप्पलले अनुसन्धान तथा विकासको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै खर्च गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको सन् २०१९ को तेस्रो चौमासिकको प्रतिवेदनअनुसार एप्पलले ४.२ बिलियन अमेरिकी डललर रिसर्च एण्ड डेभलपमेन्टमा खर्च गरेको छ । यो कम्पनीको कुल आम्दानीको ७.९ प्रतिशत हो ।
सन् २००३ देखि हालसम्म कम्पनीले एउटा चौमासिकमा अनुसन्धान तथा विकासमा गरेको यो अहिलेसम्मकै सबैभन्दा धेरै खर्च हो । यो तथ्यांकलाई हेर्दा कम्पनीले सन् २०१९ मा मात्रै अनुसन्धान तथा विकासको क्षेत्रमा १६ बिलियन डलर भन्दा बढि खर्च गर्नेछ ।
तर यहि अवधिमा चिनियाँ टेक कम्पनी ह्वावेले भने करिब १७ बिलियन डलर खर्च गर्ने योजना लिएको छ ।
गएको चौमासिकमा आइफोनको आम्दानी १२ प्रतिशत घटेको देखिएको छ । एप्पलले कोर टेक्नोलोजीहरुमा लगानी गरिरहेको छ जसमा हाल बजारमा नआएका डिभाइसहरु छन् ।
एप्पलले अनुसन्धान तथा विकासमा गर्ने खर्च तेस्रो चौमासिकमा बढेको देखिएपनि यो खर्च अन्य टेक कम्पनीहरुको भन्दा कम नै हो । सोहि अवधिमा माइक्रोसफ्टले आफ्नो आम्दानीको १३.४ प्रतिशत तथा गूगलले १५.७ प्रतिशत खर्च गरिरहेका छन् ।
एप्पलका चीफ फाइनान्सियल अफिसर लुका माएस्ट्रीले भने हामी यूजर एक्सपेरिएन्स सुधार गर्न चाहन्छौं भने बजारमा हाम्रा उत्पादन तथा सेवाहरु फरक हुन भन्ने चाहन्छौं । त्यसैले हामी निरन्तर यो गर्नेछौं ।
एप्पलले आफ्नो अनुसन्धान तथा विकासलाई केहि मात्रामा हालका उत्पादनहरुका लागि केन्द्रित गरेको छ भने केहि काम भविश्यमा हुने टेक डेभलपमेन्टका लागि गरिरहेको छ । एजेन्सी
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार