काठमाडौं ।
अघिल्ला रिपोर्टहरूलाई पुष्टि गर्दै मेटाले बुधबार आफ्नो कनेक्ट २०२६ सम्मेलनमा पहिलोपटक क्यामराविनाका एआई चस्मा सार्वजनिक गरेको छ।
‘रे–ब्यान मेटा अडियो’ नाम दिइएको यी चस्मा एआई चस्माको दुरुपयोगबारे उठेका आलोचना सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो। एआई चस्मालाई केहीले ‘विकृत मानसिकता भएका व्यक्तिले प्रयोग गर्ने चस्मा’ भन्दै आलोचना गरेका थिए।
नयाँ चस्मामा क्यामरा हुनेछैन। यसबाट संगीत र पोडकास्ट सुन्न, फोन कल गर्न, बोलेको भाषा अनुवाद गर्न र मेटाको एआई सहायक म्युजसँग कुराकानी गर्न सकिनेछ।
टेकक्रञ्चका अनुसार मेटाको एआई हार्डवेयर विकासमा साझेदार कम्पनी एसिलोरलक्सोटिकाले यी चस्मा डिजाइन गरेको हो। यसको सुरुवाती मूल्य ३४९ अमेरिकी डलर हुनेछ।
मेटाले अहिले विभिन्न शैली, रङ र सुविधासहितका एआई चस्मा बिक्री गर्दै आएको छ। तर, नयाँ अडियो चस्माले कम्पनीको छविमा परेको क्षति कम गर्न मद्दत गर्न सक्नेछ। आलोचकहरूले प्रायः पुरुषहरूले अरूको सहमतिविना भिडियो खिच्न एआई चस्मा प्रयोग गरिरहेको भन्दै प्रश्न उठाएका थिए।
यस समस्यालाई कम गर्न मेटाले यसअघि चस्माले भिडियो रेकर्ड गरिरहेको संकेत दिने एलईडी बत्तीमा छेडछाड भएमा क्यामेरा निष्क्रिय हुने सुविधा अद्यावधिकमार्फत ल्याएको थियो। तर, चस्माको दुरुपयोगबारेको चिन्ता भने कायम रह्यो।
क्यामरा नभएका कारण नयाँ चस्मा यसअघि सार्वजनिक गरिएका मोडलभन्दा लोकप्रिय हुन सक्ने अनुमान गरिएको छ। यसले एप्पलको सिरीमा आधारित एयरपड्सजस्ता उपकरणसँग प्रतिस्पर्धा गर्ने विकल्पसमेत दिन सक्छ।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबारको मुख्य सम्बोधनमा भने, “एकपटक उच्च गुणस्तरको अडियो सुन्न बानी परेपछि तपाईं सधैँ त्यही चाहनुहुन्छ, होइन र?” उनले अडियो चस्माको अवधारणामा काम गरेपछि कम्पनीले अडियोमा आधारित चस्माको नयाँ श्रेणी नै विकास गर्न सक्ने निष्कर्ष निकालेको बताए।
क्यामरा राख्नुपर्ने आवश्यकता नभएकाले यी चस्मा मेटाका अन्य मोडलभन्दा पातला छन् र तौल ४३ ग्राम मात्र छ। मेटाका अनुसार चस्मामा समायोजन गर्न मिल्ने डाँठका टुप्पा, फेर्न मिल्ने नाकमा अडिने प्याड र बढी खोल्न मिल्ने कब्जा छन्। एकपटक चार्ज गर्दा १२ घण्टासम्म प्रयोग गर्न सकिनेछ। यससँगै दिइने चार्जिङ केस प्रयोग गर्दा ब्याट्रीको अवधि ४८ घण्टासम्म पुग्ने कम्पनीले जनाएको छ।
यी चस्मा विभिन्न रङ र विकल्पमा उपलब्ध हुनेछन्। जम्मा २३ प्रकारका रङ र लेन्स संयोजन हुनेछन्। साथै, दुई नयाँ शैलीमा पनि उपलब्ध हुनेछन्। तीमध्ये ‘क्लबमास्टर’ रेट्रो शैलीबाट प्रेरित रे–ब्यानको डिजाइन हो भने ‘बरब्याङ्क’ क्लासिक र सधैँ चल्तीमा रहने आयताकार आकारको हुनेछ। आवश्यक परेमा अन्य मेटा चस्माजस्तै यी चस्मा पनि प्रयोगकर्ताको आँखाको नम्बरअनुसार बनाउन सकिनेछ।
कम्पनीका अनुसार यी चस्माको अग्रिम अर्डर अक्टोबर १३ देखि खुल्नेछ।
चस्मासँगै मेटाले अर्को पुस्ताको क्यामरासहितको एआई चस्मा ‘रे–ब्यान मेटा (जेन ३)’ पनि सार्वजनिक गरेको छ। रे–ब्यान मेटा वेफेयररका अतिरिक्त यसमा ‘एभिएटर’ र ‘जेना’ गरी दुई नयाँ शैली हुनेछन्। ‘जेना’ चस्माको फ्रेम बिरालोको आँखाको आकारजस्तै हुनेछ।
यी चस्मामा १२ मेगापिक्सेलको क्यामेरा हुनेछ, जसले थ्रीके अल्ट्रा एचडी भिडियो खिच्न सक्नेछ। यसमा छवटा माइक्रोफोनको समूह र नौ घण्टासम्म चल्ने ब्याट्री हुनेछ।
एसिलोरलक्सोटिकासँगको सहकार्यमा मेटाले सार्वजनिक गरेका चस्माको शैली र रङका विकल्प पनि विस्तार गरिनेछ। साथै, गायिका लिसासँग नयाँ साझेदारी गरिएको छ। यसअघि कम्पनीले काइली जेनरसँग पनि ब्रान्ड साझेदारी गरेको थियो।
मेटाका अनुसार यी चस्मा विश्वका थप देशमा पनि उपलब्ध गराइनेछन्।
प्रकाशित: ११ आश्विन २०८३, आईतवार