काठमाडौं ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताएकी छन्।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आइपुगेकिा मन्त्री चौधरीले आज घरपझोङ गाउँपालिका–२ मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताएकी हुन्।
केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यानाकर्षण गराएकि थिइन्।
जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या समाधान गर्न ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताइन। उनले सानो बजेटबाट स्याटेलाइट फार्म स्थापना गर्दा समय लाग्ने भएकाले त्यसलाई परियोजनाका रूपमा अघि बढाउन आवश्यक छलफल गरिने आश्वासन दिइन्।
केन्द्रका प्रमुख पन्थका अनुसार स्थापना भएको करिब ५० वर्षपछि पहिलोपटक मन्त्रिस्तरीय भ्रमण भएको हो।
विसं २०२३ मा स्थापना भएको शितोष्ण बागवानी विकास केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र प्रविधि प्रसारसम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्दै आएको छ। केन्द्रका चारवटा ब्लकमा करिब ९०० रोपनी क्षेत्रफलमा फलफूल, तरकारी तथा अन्य कृषि बालीको उत्पादन, अनुसन्धान, अन्वेषण र क्षमता विकासका काम हुँदै आएका छन्।–रासस
प्रकाशित: १ आश्विन २०८३, बिहीबार