न्यायाधीशले एक्सको प्रतिस्पर्धीलाई ट्विटर नाम प्रयोग गर्न रोक लगाए, तर ‘ट्विट’ प्रयोग गर्न तत्काल अनुमति

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
न्यायाधीशले एक्सको प्रतिस्पर्धीलाई ट्विटर नाम प्रयोग गर्न रोक लगाए, तर ‘ट्विट’ प्रयोग गर्न तत्काल अनुमति

काठमाडौं ।

अमेरिकाको डेलावेयरस्थित संघीय अदालतले एलन मस्कको एक्स र प्रतिस्पर्धी सामाजिक सञ्जाल सुरु गर्न खोजिरहेको एउटा स्टार्टअपबीचको ट्रेडमार्क विवादमा फैसला गरेको छ।

अपरेसन ब्लुबर्ड नामको उक्त स्टार्टअपले सुरुमा ‘ट्विटर डटकम’ नामबाट सेवा सुरु गरेको थियो। तर अदालतले एक्सको पक्षमा फैसला गर्दै उसलाई उक्त नाम प्रयोग गर्न रोक लगाएको छ।

यद्यपि, अदालतले एक्सले ‘ट्विट’ शब्द र ट्विटरको चराको लोगोसम्बन्धी दुई ट्रेडमार्क सम्भवतः प्रयोग गर्न छाडिसकेको निष्कर्ष निकालेको छ। त्यसैले यी नाम तथा लोगो प्रयोग गर्न सकिने अवस्था बनेको छ। अपरेसन ब्लुबर्डले त्यसपछि आफ्नो वेबसाइटको नाम ‘Tweet.app’ राख्दै ‘ट्विट’ नाम प्रयोग गर्न थालेको छ र सार्वजनिक रूपमा सेवा सुरु गरेको छ।

भर्जिनियामा आधारित यो स्टार्टअपको उद्देश्य वास्तवमा नयाँ र मौलिक सामाजिक सञ्जाल निर्माण गर्नु मात्र देखिँदैन। यसको मुख्य उद्देश्य एक्सले प्रयोग गर्न छाडेका ट्रेडमार्कहरू आफ्नो हातमा पार्नु देखिन्छ।

कम्पनीको होमपेजमै एलन मस्कले ट्विटरको नाम परिवर्तन गरी एक्स बनाएपछि छाडेका ट्रेडमार्कहरू पुनः प्रयोगमा ल्याउने उद्देश्य रहेको स्पष्ट उल्लेख छ। कम्पनीले मस्कले “बाहिरिँदा चरालाई पनि फ्याँकेर गएको” उल्लेख गरेको छ।

यो प्रयासको नेतृत्व दुई जना वकिलले गरिरहेका छन्। यसमा इलिनोइसमा आधारित संस्थापक माइकल पेरोफ र ट्विटरमा यसअघि ट्रेडमार्क वकिलका रूपमा काम गरेका स्टेफन कोट्स छन्।

उनीहरूको कानुनी पृष्ठभूमिलाई हेर्दा नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने दाबी केही शंकास्पद देखिन्छ। बरु उनीहरूले आफ्नै मूल्य रहेको ट्विटरका ट्रेडमार्क प्राप्त गर्न खोजेको सम्भावना बढी देखिन्छ।

यद्यपि, Tweet.app ले कम्तीमा सेवा सञ्चालनको प्रक्रिया अघि बढाउँदै प्रारम्भिक परीक्षणका लागि प्रयोगकर्तालाई पहुँच दिन थालेको छ। कम्पनीले टेकक्रन्चलाई बताएअनुसार सेवा सार्वजनिक हुनुअघि १ लाख ७२ हजारभन्दा बढी मानिसले वेबसाइटमा आफ्नो ह्यान्डल सुरक्षित गर्न अनुरोध गरेका थिए। यसको ठूलो कारण अझै पनि मानिसहरूमा ‘ट्विटर’ ब्रान्ड नामप्रतिको आकर्षण हुन सक्छ। तर अब कम्पनीले उक्त नाम प्रयोग गर्न पाउने छैन।

स्टार्टअपले आफ्नो ह्यान्डल सुरक्षित गर्न र सामाजिक सञ्जालमा सहभागी हुन प्रयोगकर्तासँग २० डलर शुल्क लिइरहेको छ। यसबाट कम्पनीले आफ्नो कानुनी खर्च जुटाउन पनि सहयोग पुग्ने देखिन्छ।

टेकक्रञ्चका अनुसार अदालतको यो निर्णय अन्तिम भने होइन। अमेरिकी जिल्ला अदालतका न्यायाधीश कोल्म एफ. कोनोलीले एक्सले माग गरेको प्रारम्भिक निषेधाज्ञासम्बन्धी निवेदनमा विभाजित फैसला गरेका हुन्। एक्सले अपरेसन ब्लुबर्डलाई ट्विटरसम्बन्धी विभिन्न ट्रेडमार्क प्रयोग गर्न रोक्न माग गरेको थियो। स्टार्टअपले एक्सले पुनः ब्रान्डिङ गरेपछि ती ट्रेडमार्क प्रयोग गर्न छाडेको दाबी गरेको थियो।

न्यायाधीशले ट्विटरसम्बन्धी आठवटा ट्रेडमार्कका विषयमा एक्सको प्रारम्भिक निषेधाज्ञाको माग स्वीकार गरे। तर ‘ट्विट’ ट्रेडमार्क र ट्विटरको चराको लोगोका विषयमा भने माग अस्वीकार गरे।

न्यायाधीशले आफ्नो फैसलामा ब्लुबर्डले एक्स कर्पोरेसनले ‘ट्विट’ ट्रेडमार्क र चराको लोगोको वास्तविक प्रयोग बन्द गरेको तथा भविष्यमा ती ट्रेडमार्कको प्रयोग पुनः सुरु गर्ने उसको मनसाय नरहेको प्रमाणित गर्ने सम्भावना रहेको उल्लेख गरेका छन्।

अब एक्सले ट्विटरका कुनै पनि ट्रेडमार्कमा आफ्नो अधिकार कायम राखेको छ कि छैन भन्ने विषयमा मुद्दा अघि बढ्नेछ। कम्पनीले अधिकांश स्थानमा आफ्नो नाम एक्समा परिवर्तन गरिसकेको छ।

“उनीहरूले शब्दलाई राखे। चरालाई छाडे र ट्विटलाई पनि छाडे,” अपरेसन ब्लुबर्डका अध्यक्ष कोट्सले टेकक्रन्चलाई इमेलमार्फत पठाएको पुनः ब्रान्डिङसम्बन्धी घोषणामा लेखेका छन्। “ट्विट कहिल्यै एउटा कर्पोरेसन थिएन। यो एक व्यक्तिले केही कुरा भन्ने हो। कम्पनीले त्यसलाई हटाउन खोजेको तीन वर्षसम्म पनि त्यो शब्द जीवित रह्यो, किनभने जनताले त्यसको प्रयोग गर्न छाडेनन्। हामीलाई लाग्छ, यसले त्यो शब्द कसको हो भन्ने कुरा स्पष्ट गर्छ,” उनले भने।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार