काठमाडौं ।
अमेरिका र चीन सेप्टेम्बरको मध्यमा हुने भनिएको वार्तामा एआई सुरक्षासँग सम्बन्धित जोखिमबारे छलफल गर्ने तयारीमा रहेका छन्।
तीव्र रूपमा विकास भइरहेको अत्याधुनिक एआईको क्षमता विश्वव्यापी रूपमा निर्णायक मोडमा पुगेका बेला यस्तो छलफल हुन लागेको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पटक पदमा आएपछि अमेरिका र चीनबीच एआईमा मात्र केन्द्रित भएर हुन लागेको यो पहिलो औपचारिक द्विपक्षीय छलफल हुनेछ। योजनाबारे जानकारी पाएका स्रोतका अनुसार अमेरिकी पक्षबाट अर्थमन्त्री स्कट बेसन्टले वार्ताको नेतृत्व गर्नेछन्। स्रोतहरूले आफ्नो परिचय सार्वजनिक नगर्ने सर्तमा यस्तो जानकारी दिएका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर २४ मा वासिङ्टनमा हुने शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्ने कार्यक्रम छ।
अमेरिकाले एआईद्वारा निर्देशित साइबर आक्रमणको निगरानीमा सहकार्यबारे छलफल गर्न चाहेको छ। साथै, अमेरिकी र चिनियाँ एआई प्रयोगशालाहरूलाई आफैंले निगरानी गर्ने र एआईसँग सम्बन्धित साइबर आक्रमण रोक्न सूचना आदानप्रदान गर्ने प्रस्ताव पनि अमेरिकाले अघि सारेको एक स्रोतले जनाएको छ।
जुलाईमा ओपनएआईका मोडलमा आधारित करिब ७०० वटा अनियन्त्रित एआई एजेन्टले एआई स्टार्टअप हगिङ फेसको प्रणाली ह्याक गरेको र आफ्नो गतिविधि लुकाउन नक्कली लगहरू बनाउने प्रयास गरेको ओपनएआई र साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले गत साता बताएका थिए। यसले मानिसको निगरानीबिना महिनौंसम्म स्वायत्त रूपमा काम गर्न सक्ने एआई एजेन्टहरूको समूहबाट हुन सक्ने जोखिमलाई उजागर गरेको छ।
यसै वसन्तमा अनियन्त्रित ओपनएआई एजेन्टहरूको समूहले जर्मनीको एउटा वेबसाइट कब्जा गरी त्यसलाई अन्य एआई एजेन्टका लागि सूचना आदानप्रदान गर्ने बोर्डमा परिणत गरेको विषय पनि रोयटर्सले शुक्रबार पहिलोपटक सार्वजनिक गरेको थियो।
“दुई एआई महाशक्तिबीचको वार्ता सबैभन्दा महत्वपूर्ण मोडमा हुन लागेको छ,” डीजीए–अल्ब्राइट स्टोनब्रिज ग्रुपका साझेदार पल ट्रिओलोले भने। “यो अब गर्ने कि कहिल्यै नगर्ने भन्ने अवस्थामा पुगेको छ।”
वासिङ्टनले भविष्यमा चीनले साइबर आक्रमण गर्न सक्ने क्षमतासहितको ‘माइथोस’ स्तरको मोडल विकास गर्न सक्ने सम्भावनालाई लिएर पनि चिन्ता व्यक्त गरेको छ। साथै, अमेरिकी कम्पनीका स्वामित्व भएका एआई मोडललाई चीनले कथित रूपमा ‘डिस्टिलेसन’ गरेको विषय पनि अमेरिकाले उठाउन चाहेको स्रोतले जनाएको छ।
अमेरिकी प्रविधि कम्पनी एन्थ्रोपिकले माइथोज मोडल विकास गरेको हो।
जुनमा ह्वाइट हाउसका विज्ञान तथा प्रविधि सल्लाहकार माइकल क्राटसियोसले चिनियाँ कम्पनी मुनसट एआईले एन्थ्रोपिकको एआई मोडल फेबलबाट जानकारी लिएर आफ्नो के३ मोडल बनाउन सहयोग गरेको आरोप लगाएका थिए। उनले चिनियाँ कम्पनीले एन्थ्रोपिकको मोडललाई डिस्टिलेसन गरेको बताएका थिए।
डिस्टिलेसन भनेको ठूलो र महँगो एआई मोडलबाट प्राप्त आउटपुट प्रयोग गरेर साना एआई मोडललाई तालिम दिने प्रक्रिया हो। यसको उद्देश्य शक्तिशाली नयाँ एआई उपकरणको प्रशिक्षण लागत घटाउनु हो।
चिनियाँ पक्षबाट बेसन्टका समकक्ष उपप्रधानमन्त्री ह यिफेङले वार्ताको नेतृत्व गर्न सक्ने भए पनि चीनका सातौं वरीयताका अधिकारी तिङ सुएसियाङलाई पनि सम्भावित विकल्पका रूपमा विचार गर्न सकिने दोस्रो स्रोतले जनाएको छ। उनले पनि आफ्नो परिचय सार्वजनिक नगर्ने सर्तमा यस्तो जानकारी दिएका छन्।
सीका विश्वासपात्र तथा सत्तारुढ कम्युनिस्ट पार्टीको शक्तिशाली सात सदस्यीय पोलिटब्युरो स्थायी समितिका सदस्य तिङले चीनको प्रविधि, एआई र सेमिकन्डक्टर नीतिको समन्वय गर्छन्।
वार्ता कहाँ हुनेछ र अन्य सहभागी को-को हुनेछन् भन्ने रोयटर्सले पुष्टि गर्न सकेको छैन। तर, क्राटसियोस र चीनका विज्ञान तथा प्रविधिमन्त्री यिन हेजुन वार्तामा सहभागी हुन सक्ने दोस्रो स्रोतले जनाएको छ।
वार्ताको अन्तिम एजेन्डा र सहभागीहरूको सूची अझै परिवर्तन हुन सक्ने स्रोतहरूले बताएका छन्।
ह्वाइट हाउसले एआई वार्ताबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। विदेश मन्त्रालयले पनि टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन। चीनको विदेश, विज्ञान तथा उद्योग मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र साइबरस्पेस नियामकले पनि तत्काल प्रतिक्रिया दिएका छैनन्।
मंगलबार उत्तरी क्यारोलिनामा पत्रकारहरूसँग कुरा गर्दै क्राटसियोसले यसै साता अमेरिकामा भएको जी२० नवप्रवर्तन सम्मेलनका क्रममा यिनसँग आफ्नो “उत्कृष्ट” भेटवार्ता भएको बताएका थिए। बेसन्टले यसै साताको जी२० वित्तीय बैठकमा चिनियाँ अधिकारीहरूसँग एआईबारे “सीमित” छलफल भएको बताएका थिए।
अमेरिकाले सोही नवप्रवर्तन सम्मेलनमा जी२० सदस्य राष्ट्रहरूलाई एआई नियमनमा हस्तक्षेप कम गर्न र प्रविधिका लागि नयाँ नियम बनाउनबाट जोगिन आग्रह गरेको थियो। चीनले ‘क्यारोलिना प्रिन्सिपल्स’मा हस्ताक्षर गरेको थियो। यो सम्झौता एआईका लागि छुट्टै नियमन बनाउने प्रयासलाई निरुत्साहित गर्ने उद्देश्यले गरिएको हो। यसले अमेरिका र चीनबीच प्रविधिको विषयमा दुर्लभ सहकार्य देखाएको छ।
क्राटसियोसको कार्यालयले टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन।
उच्च महत्व
दुई स्रोत र विषयबारे जानकार अर्का एक स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले अमेरिकी समकक्षसँग भएका तयारी बैठकहरूमा एआई वार्ताको महत्व पटकपटक जोड दिएका छन्।
उनीहरूले यसलाई अमेरिका–चीन नेताहरूको शिखर सम्मेलनको प्रमुख उपलब्धिका रूपमा हेरेका छन्।
गत साता चीनको साइबरस्पेस नियामकले सार्वजनिक रूपमा “एआई पूर्ण रूपमा नियन्त्रण बाहिर जाने चरम जोखिम” बारे चेतावनी दिएको थियो। सरकारी सञ्चारमाध्यमसँग आबद्ध एउटा ब्लगले एन्थ्रोपिकको आलोचना गर्दै अत्याधुनिक एआईमा लगाइने कुनै पनि सीमा चिनियाँ र अमेरिकी दुवै मोडलमा समान रूपमा लागू हुनुपर्नेमा जोड दिएको थियो।
पछिल्ला महिनाहरूमा चिनियाँ कम्पनीहरूले आफूले एन्थ्रोपिकको माइथोसजस्तै क्षमता भएका उत्पादन विकास गरेको दाबी गर्दै विभिन्न उत्पादन सार्वजनिक गरेका छन्।
माइक्रोसफ्टका पूर्व कार्यकारी क्रेग मुन्डी पर्दापछाडिबाट महत्वपूर्ण मध्यस्थकर्ताका रूपमा सक्रिय रहेको स्रोतले जनाएको छ। उनले एआई वार्ताका लागि अमेरिकी प्रस्तावबारे चिनियाँ समकक्षसँग छलफल गरिरहेका छन्। मुन्डी अनौपचारिक अमेरिका–चीन ‘ट्र्याक टू’ एआई संवादका सह-अध्यक्ष हुन्।
रोयटर्सले गत महिना माइक्रोसफ्टले चीनसँग गहिरो सम्बन्ध बनाएको र चीनमा सञ्चालनमा रहेका विदेशी प्रविधि कम्पनीहरूमध्ये उसको सम्बन्ध सबैभन्दा गहिरोमध्ये एक रहेको समाचार प्रकाशित गरेको थियो।
गत साता बेइजिङमा भएको ‘ट्र्याक १.५’ संवादमा पनि दुवै पक्षले एआईका लागि सुरक्षा उपायबारे छलफल गरेको पूर्व अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले सामाजिक सञ्जालमा लेखेका छन्। उनी उक्त संवादमा सहभागी थिए।
जुनमा ट्रम्पले एआईसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अत्याधुनिक एआई मोडल सार्वजनिक गर्नुअघि साइबर सुरक्षा समीक्षा गर्ने स्वैच्छिक व्यवस्था स्थापना गरेका थिए। तर, अमेरिकाले यी समीक्षाका लागि आवश्यक मापदण्ड भने सार्वजनिक गरेको छैन।
यसैबीच, एन्थ्रोपिक र ओपनएआईसहितका प्रमुख अमेरिकी एआई प्रयोगशालाका कर्मचारीहरूले उन्नत एआईबाट उत्पन्न विश्वव्यापी जोखिम व्यवस्थापन गर्न “एआईको विकासको गति नियन्त्रण” गर्न आह्वान गरेका छन्।
“चिनियाँ पक्षले सबैभन्दा उन्नत एआई मोडलमा अमेरिकासँग पर्याप्त नियमन छ कि छैन भन्ने विषयमा चिन्ता व्यक्त गरेको छ। दुवै पक्ष सीमापार संकटलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने सुनिश्चित गर्न इच्छुक छन्,” कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पीसको चाइना एआई इनिसिएटिभका सह-निर्देशक स्कट सिङ्गरले भने।
नतिजा सीमित हुन सक्ने भए पनि दुवै पक्षले आफ्ना अवलोकन साझा गर्न र एआई सुरक्षा घटनाको संयुक्त रूपमा निगरानी गर्न सक्ने संवादको माध्यम खोल्नु महत्वपूर्ण सुरुवात हुने न्यु अमेरिकाका वरिष्ठ फेलो साम स्याक्सले बताए। न्यु अमेरिका अमेरिकी नीति अनुसन्धान संस्था हो।
“हामी यस्तो निर्णायक मोडमा छौं, जहाँ निगरानीबिनाका अत्याधुनिक एआई एजेन्टहरूले ठूलो क्षति पुर्याउन सक्छन्। अमेरिका र चीन दुवै जोखिममा छन्। यो भूराजनीतिक प्रतिस्पर्धाभन्दा धेरै ठूलो विषय हो,” स्याक्सले भने।
“अमेरिका र चीन कुनै न कुनै रूपमा एक ठाउँमा आउनैपर्छ, नत्र हामी दुवैले गुमाउनेछौं।”
प्रकाशित: २२ भाद्र २०८३, सोमबार