म्याक्ससद्वारा बाढी प्रभावित समुदायका लागि ८० लाख बराबरको राहत सहयोग प्रदान

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
म्याक्ससद्वारा बाढी प्रभावित समुदायका लागि ८० लाख बराबरको राहत सहयोग प्रदान

काठमाडौं ।

एसएआईसी म्याक्सस चाइनाको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले बाढीबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब ८० लाख बराबरको सहयोग प्रदान गरेको छ।

प्रत्यक्ष आर्थिक सहयोग सँगै दिगो स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री सहयोग प्रदान गरेको हो।

म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाखको चेक केही दिनअघि नै अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ भने त्रिशुली नदी पारिपट्टिका विपत प्रभावित समुदायका लागि प्रत्यक्ष रूपमा लाभ पुग्ने गरी करिब ३० लाख बराबरको, दुईवटा होल्डिङ सेन्टरहरूमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडानका साथै झन्डै ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्रीहरु वितरण गरेको छ।

वितरण गरिएका राहत सामग्रीहरूमा, सुत्नका लागि आवश्यक पर्ने डसना सिरानी तन्ना लगायतका आवश्यक सामग्री,औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्यान्न सामग्री तथा तरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष महिला तथा बालबालिकाहरूका लागि कपडा तथा अन्य अन्य आधारभूत आवश्यकताका सामग्रीहरु रहेका छन्।

संस्थाका अनुसार सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशुली स्थित श्री भैरम माध्यमिक विद्यालयमा जडान गरिएको छ, जहाँ हाल करिब ३०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

अर्को प्रणाली नुवाकोटकै विदुर नगरपालिकाको त्रिशुली प्राथमिक विद्यालयमा जडान गरिएको छ, जहाँ हाल करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रति घण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्दछ।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार