काठमाडौं ।
बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुबिसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको छ।
नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको हो।
विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले भने, ‘राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाई सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ। कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाका लागि धन्यवाद व्यक्त गर्दछु। विपद्को समयमा गरिएको यो सहयोगले राहत शिविरमा रहेका परिवारहरूलाई ठूलो सहजता प्रदान गरेको छ।’
त्यसैगरी, समाजसेवी रमेश श्रेष्ठले भने, ‘विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ। सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको छ।’
यसैगरी, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकहरूको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराएको छ।
यस सहयोगले प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गरेको उल्लेख गर्दै चन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीले भने, ‘विपद्को यस कठिन परिस्थितिमा चन्द्र ज्योति माध्यमिक विद्यालयमा बसोबास गरिरहेका तथा पीडामा रहेका प्रभावित परिवारहरूका लागि सुविसुले करिब ३००–४०० जनालाई निःशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध गराएर महत्वपूर्ण सहयोग पुर्याएको छ।’
विपद्को समयमा सञ्चार केवल सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कठिन परिस्थितिमा समुदायको आवश्यकताअनुसार सहयोग पुर्याउने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: २१ भाद्र २०८३, आईतवार