जर्मनीको डोयच टेलिकमलाई टी–मोबाइल यूएससँगको मर्जर रोक्न लगानीकर्ता इलियटको दबाब

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
जर्मनीको डोयच टेलिकमलाई टी–मोबाइल यूएससँगको मर्जर रोक्न लगानीकर्ता इलियटको दबाब
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

बेलायतको एक्टिभिस्ट लगानीकर्ता कम्पनी इलियट म्यानेजमेन्टले डोयच टेलिकममा सेयर खरिद गर्दै कम्पनीलाई अमेरिकी दूरसञ्चार कम्पनी टी–मोबाइल यूएससँगको प्रस्तावित मर्जर योजना रद्द गर्न दबाब दिएको छ।

ब्लुमबर्गका अनुसार, नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै इलियटले मर्जरको सट्टा अन्य उपायबाट सेयरधनीको मूल्य बढाउन डोयच टेलिकमलाई दबाब दिइरहेको छ। यसका लागि ठूलो मात्रामा सेयर पुनः खरिद (बाइब्याक) गर्नेलगायतका विकल्प सुझाइएको बताइएको छ।

डोयच टेलिकमले यसअघि नै सेयर बाइब्याक गर्दै आएको छ। कम्पनीले सन् २०२५ मा २ अर्ब युरोको बाइब्याक पूरा गरेको थियो भने यस वर्ष थप २ अर्ब युरोको कार्यक्रम सुरु गरेको थियो। गत महिना त्यसलाई बढाएर सन् २०२६ को अन्त्यसम्म ५ अर्ब युरोसम्म पुर्याइएको थियो।

तर इलियटका लागि यो पर्याप्त नभएको देखिन्छ। कम्पनीले डोयच टेलिकमका प्रमुख कार्यकारी टिम हेट्गेसमाथि थप दबाब बढाउन सक्ने अनुमान गरिएको छ।

टेलिकम्स डटकमका अनुसार डोयच टेलिकमले आफ्नो अमेरिकी इकाइ टी–मोबाइल यूएससँग पूर्ण मर्जर गर्ने सम्भावनाबारे यसअघि विचार गरिरहेको समाचार सार्वजनिक भएको थियो।

प्रस्तावअनुसार डोयच टेलिकम र टी–मोबाइलका लगानीकर्ताको संयुक्त स्वामित्वमा नयाँ होल्डिङ कम्पनी स्थापना गरी दुवै कम्पनीका सेयर खरिद गर्ने योजना छ। त्यसपछि नयाँ कम्पनीलाई अमेरिका र युरोपको प्रमुख स्टक एक्सचेन्जमा सूचीकृत गर्ने प्रस्ताव छ।

तर मर्जर अघि बढाउन चुनौती छन्। जर्मन सरकारसँग डोयच टेलिकमको २८.३ प्रतिशत स्वामित्व छ। प्रत्यक्ष सरकारी स्वामित्व १४.१ प्रतिशत छ भने बाँकी १४.२ प्रतिशत सरकारी स्वामित्वको बैंक केएफडब्ल्यूमार्फत रहेको छ।

अमेरिकामा पनि मर्जरप्रति केही टी–मोबाइल अधिकारी र संस्थागत सेयरधनीको असहमति रहेको रिपोर्ट सार्वजनिक भएका छन्। अमेरिकी कमिटी अन फरेन इन्भेस्टमेन्ट इन द युनाइटेड स्टेट्स (सीएफआईयूएस) ले पनि टी–मोबाइलको आम्दानी अमेरिकाबाहिर लैजान नपाइने सुनिश्चितता खोजिरहेको बताइएको छ।

मर्जर सफल भए बजार पुँजीकरणका आधारमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी बन्न सक्ने अनुमान छ। टी–मोबाइल यूएसको बजार पुँजीकरण करिब २०० अर्ब डलर र डोयच टेलिकमको करिब १६० अर्ब डलर रहेको बताइएको छ।

इलियटले यसअघि पनि ठूला कम्पनीमा सक्रिय लगानीकर्ताका रूपमा व्यवस्थापनमाथि दबाब दिँदै आएको छ। यद्यपि, डोयच टेलिकम–टी–मोबाइल मर्जरबारे इलियटले हालसम्म सार्वजनिक रूपमा आफ्नो धारणा पुष्टि गरेको छैन।

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...