काठमाडौं ।
डीजेआईले आईएफए २०२६ मा आफ्नो नयाँ रोबोट भ्याकुम डीजेआई रोमो २ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा लाइडार प्रविधिमा आधारित मपिङ आर्म र सुधारिएको अवरोध पहिचान प्रणाली समावेश गरिएको छ।
सन् २०२५ मा सार्वजनिक गरिएको डीजेआई रोमो पछि कम्पनीले रोमो २ सिरिज ल्याएको हो। नयाँ भ्याकुमको डिजाइन अघिल्लो मोडलसँग मिल्दोजुल्दो पारदर्शी प्रकारको छ। कम्पनीका अनुसार नयाँ मोडलले अवरोधलाई अझ राम्रोसँग पहिचान गर्नुका साथै घरसम्बन्धी डेटा गोप्य राख्ने विकल्प पनि उपलब्ध गराउँछ।
पहिलो डीजेआई रोमो मा नेभिगेसन र अवरोधबाट बच्न डीजेआई को ड्रोन प्रविधि प्रयोग गरिएको थियो। यही प्रविधि रोमो 2 सिरिजका रोमो पी२ र रोमो ए२ मा पनि प्रयोग गरिएको छ।
कम्पनीका अनुसार यसपटक रोबोट भ्याकुमको ‘पर्सेप्सन सिस्टम’ पूर्ण रूपमा नयाँ आधारबाट विकास गरिएको छ। यसले भुइँमा रहेका अवरोधलाई मिलिमिटर स्तरसम्म पहिचान गर्न सक्छ। यसका कारण तारजस्ता वस्तुबाट बच्न मात्र नभई भुइँमा रहेका वस्तुको आधारमा सक्सन र सफाइ गर्ने तरिका समायोजन गर्न पनि सकिन्छ।
डीजेआईका अनुसार यो प्रणाली विशेषगरी सिसा र ऐना जस्ता वस्तु पहिचान गर्न उपयोगी छ। रोमो २ मा कम प्रकाश भएको अवस्थामा भुइँमा रहेको फोहोर र अवरोध देखाउन बिल्ट-इन लाइट पनि राखिएको इन्ग्याजेटले उल्लेख गरेको छ।
नेभिगेसन प्रणालीबाहेक रोमो २ मा सफाइ क्षमतामा पनि सुधार गरिएको छ। सोफासहित क्याबिनेटमुनि सफाइ गर्न सक्ने मपिङ आर्ममा लाइडार मार्गदर्शन प्रणाली राखिएको छ, जसले १२३ डिग्रीसम्म घुम्न सक्छ। त्यस्तै, प्रेशर प्लेटले भुइँमा राम्रोसँग सिल बनाएर अधिकतम ३६,००० पीए सम्मको सक्सन क्षमता प्रदान गर्न सक्छ।
इन्ग्याजेटका अनुसा्अ न्य उच्चस्तरीय रोबोट भ्याकुममा जस्तै रोमो २ मा पनि रोबोटिक लेग राखिएको छ। यसले ८.५ सेन्टिमिटर (३.३ इन्च) सम्म अग्ला किनारा पार गर्न वा दुई चरणमा उक्लिन सक्छ।
सन् २०२६ को चौथो त्रैमासिकदेखि डीजेआई ले रोमो २ मा नयाँ डाटा गोपनीयता विकल्पका रूपमा लोकल डाटा मोड उपलब्ध गराउने भएको छ। यो सुविधा यसअघि डीजेआईका ड्रोनमा प्रयोग गरिएको थियो।
लोकल डाटा मोड सक्रिय गरेपछि डीजेआई होम एपको इन्टरनेट कनेक्सन बन्द हुनेछ। यसले रोबोट भ्याकुमले खिचेका फोटो तथा भिडियो बाह्य सर्भरमा पठाइनबाट रोक्नेछ।
प्रयोगकर्ताले भ्याकुमका क्यामेरा र माइक्रोफोन पनि बन्द गर्न सक्नेछन्। साथै, डीजेआई सँग साझा गरिएको व्यक्तिगत डेटा मेटाउन सकिने कम्पनीले जनाएको छ।
यी सुधारहरूले अमेरिकी संघीय सञ्चार आयोगको पछिल्लो रोबोट प्रतिबन्धबाट डीजेआई लाई छुट पाउन पर्याप्त आधार दिन्छन् वा दिँदैनन् भन्ने अझै स्पष्ट छैन।
हालका लागि डीजेआईले यूरोपेली बजारका लागि मात्र रोमो २ को मूल्य सार्वजनिक गरेको छ। सेप्टेम्बरदेखि डीजेआई को वेबसाइट वा छनोट गरिएका खुद्रा साझेदारमार्फत यी रोबोट भ्याकुम अर्डर गर्न सकिनेछ।
डीजेआई रोमो पी२ को सुरुवाती मूल्य १,२९९ यूरो छ र यसमा पारदर्शी बेस स्टेसन समावेश छ। त्यस्तै, डीजेआई रोमो ए२ को सुरुवाती मूल्य १,१९९ युरो छ र यसमा सेतो बेस स्टेसन रहेको छ।
कम्पनीले यी दुई मोडलबीचका अन्य फरकहरू स्पष्ट गरेको छैन। यद्यपि, रोमो पी जस्तै पी२ को बेस स्टेसनमा थप सुविधाहरू हुन सक्ने सम्भावना रहेको छ।
प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार