एनभिडियाले हगिङ फेस लाई करिब १३ अर्ब डलरमा किन्ने

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
एनभिडियाले हगिङ फेस लाई करिब १३ अर्ब डलरमा किन्ने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

एनभिडियाले लोकप्रिय डेभलपर प्लेटफर्म हगिङ फेस लाई १२.९३ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ।

खुला एआई मोडलको समर्थनले भविष्यमा माग बढाउने अपेक्षासहित एनभिडिया ले यो सम्झौता गर्न लागेको हो। यसका ठूला ग्राहकहरूले एनभिडिया माथिको निर्भरता घटाउन आफ्नै चिप विकास गरिरहेका बेला कम्पनीले यस्तो कदम चाल्न लागेको हो।

बिहीबार सम्झौताको घोषणा भएपछि एनभिडिया को शेयर मूल्यमा सामान्य गिरावट आएको थियो। यो सम्झौता कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो खरिदमध्ये एक हो।

रोयटर्सका अनुसार एनभिडिया अमेरिकामा खुला एआई मोडलको क्षेत्रमा प्रमुख कम्पनीका रूपमा रहेको छ। कम्पनीको नेमोट्रोन मोडल व्यापक रूपमा प्रयोग हुँदै आएको छ भने एनभिडिया ले खुला एआई प्रविधिको समर्थन गर्दै आएको छ।

हगिङ फेसको अधिग्रहणपछि डेभलपरहरूले एआई उपकरणमा सहकार्य गर्न, परीक्षण गर्न र साझा गर्न प्रयोग गर्ने प्लेटफर्ममा एनभिडिया को प्रत्यक्ष पहुँच हुनेछ। यसबाट प्राप्त जानकारी र डाटाले अमेरिकी तथा चिनियाँ प्रमुख एआई प्रयोगशालासँगको प्रविधिगत दूरी कम गर्न एनभिडिया लाई सहयोग गर्न सक्नेछ।

महँगो एआई प्रविधि प्रयोग गर्न हिचकिचाउने व्यवसायका कारण ओपन-वेट मोडलको माग बढेको छ। चीनका डीपसिक र जेड डट एआईजस्ता कम्पनीहरू पनि महत्वपूर्ण खेलाडीका रूपमा अघि आएका छन्। उनीहरूले अमेरिकी उत्कृष्ट मोडलसँग प्रतिस्पर्धा गर्न सक्ने मोडल कम लागतमा उपलब्ध गराइरहेका छन्, जसले कम्प्युटर कोड निर्माणलगायतका काम गर्न सक्छन्।

ओपन-वेट मोडलको बढ्दो मागले अमेरिकी केही कम्पनीहरू भविष्यमा चीनमा विकास भएका एआई मोडलमा निर्भर हुन सक्ने चिन्ता पनि बढाएको छ। अमेरिका र चीन दुवै आफ्नो भविष्यका लागि महत्वपूर्ण मानिएको एआई प्रविधिमा अग्रता हासिल गर्न प्रतिस्पर्धा गरिरहेका छन्।

एनभिडिया का प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले हगिङ फेस सम्पूर्ण एआई इकोसिस्टमका लागि खुला प्लेटफर्मकै रूपमा रहने बताएका छन्। उनका अनुसार हगिङ फेस मा निर्माण वा त्यसबाट एआई मोडल प्रयोग गर्न एनभिडिया का चिप अनिवार्य हुने छैनन्।

सम्झौताअन्तर्गत एनभिडियाले हगिङ फेसका लगानीकर्तालाई करिब ११.९ अर्ब डलर भुक्तानी गर्नेछ। साथै एनभिडियामा आबद्ध हुने कर्मचारीलाई लक्षित गर्दै १ अर्ब डलरसम्मको इक्विटीमा आधारित रिटेन्सन कार्यक्रम पनि प्रस्ताव गरिनेछ।

एनभिडियाका लागि ओपन सोर्स एआईको विस्तारले मेटा, ओपनएआई र माइक्रोसफ्टजस्ता ग्राहकबाट हुने मागमा कमी आउन सक्ने जोखिम कम गर्न सहयोग गर्न सक्छ। यी कम्पनीहरूले एनभिडिया का महँगा र सीमित आपूर्तिमा रहेका प्रोसेसरमाथिको निर्भरता घटाउन आफ्नै एआई चिप विकास गरिरहेका छन्।

हालै ओपनएआईको परीक्षण वातावरणबाट बाहिरिएका एआई एजेन्टले गरेको ह्याकपछि पनि हगिङ फेस चर्चामा आएको थियो। एआई मोडल होस्ट गर्नुका साथै हगिङ फेसले एआई एप्लिकेसन निर्माण तथा प्रयोगका लागि आवश्यक डाटासेट, सफ्टवेयर लाइब्रेरी र क्लाउड सेवा उपलब्ध गराउँदै आएको छ।

न्युयोर्कमा रहेको यो स्टार्टअप सन् २०१६ मा फ्रान्सेली उद्यमी क्लेमेन्ट डेलाङ्गे, जुलियन चाउमण्ड र टमस वुल्फले स्थापना गरेका थिए। कम्पनीमा इन्टेल, एएमडी र अमेजनलगायतका कम्पनीको लगानी रहेको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार