काठमाडौं ।
एन्थ्रोपिकले मंगलबार आफ्नो सबैभन्दा उन्नत एआई मोडेलका दुई संस्करण फेबल र माइथोस ५.१ सार्वजनिक गरेको छ। कार्यक्षमतामा सुधारसँगै नयाँ फेबल संस्करणमा टोकनको लागत घटाउने र मोडेलको सुरक्षा प्रणालीबाट हुने गलत प्रतिबन्ध कम गर्ने परिवर्तनहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
यसअघिको माइथोस मोडेलजस्तै माइथोस ५.१ साइबर सुरक्षा वा जीवन विज्ञान अनुसन्धानमा संलग्न एन्थ्रोपिकका दर्ता भएका साझेदारका लागि मात्र उपलब्ध हुनेछ। प्रतिबन्धरहित संस्करण फेबल ५.१ भने मंगलबारदेखि नै क्लाउड प्लेटफर्म वा एन्थ्रोपिक एपीआईमार्फत प्रयोग गर्न सकिनेछ।
नयाँ संस्करणको महत्वपूर्ण परिवर्तनमध्ये एन्थ्रोपिकले पहिले घोषणा गरेको ‘जिरो डेटा रिटेन्सन’ व्यवस्था अपनाउनु पनि हो। यसले ग्राहकलाई आफ्नो डेटा बाहिर नपठाई आफ्नै पूर्वाधारमा एन्थ्रोपिकका एआई मोडेल सञ्चालन गर्न अनुमति दिन्छ।
सुरक्षा सम्बन्धी चिन्ताका कारण यसअघि फेबलका लागि उपलब्ध नभएको ‘इन्टरप्राइज फ्रन्टियर सेफगार्ड्स’ नामको उच्च गोपनीयता सेवा अब शरद ऋतुमा प्रयोगकर्ताका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो प्रणालीले एआई एजेन्ट वा मानव प्रयोगकर्ताबाट हुन सक्ने दुरुपयोगको निगरानी भने गर्नेछ। तर निगरानी कसरी गर्ने भन्ने विषयमा ग्राहकले नै नियन्त्रण राख्न सक्नेछन्।
टेकक्रञ्चका अनुसार घोषणाका क्रममा एन्थ्रोपिकले ग्राहकको डाटा अनुचित रूपमा प्रयोग वा पहुँच नगरिएको स्पष्ट पारेको छ। कम्पनीले अनुमति नलिई इन्टरप्राइज डाटा आफ्ना एआई मोडेलको प्रशिक्षणमा प्रयोग नगरेको र भविष्यमा पनि नगर्ने जनाएको छ।
एन्थ्रोपिकका नयाँ मोडेलले विभिन्न बेन्चमार्क परीक्षणमा नयाँ कीर्तिमान कायम गरेको कम्पनीले जनाएको छ। यसमा कमान्ड लाइनमा आधारित कोडिङ परीक्षण ‘टर्मिनल–बेन्च ४.०’ र सामान्य तर्क क्षमताको परीक्षण ‘ह्युम्यानिटी’ज लास्ट एक्जाम’ पनि छन्।
कम्पनीले नयाँ मोडेल सार्वजनिक गर्नुअघि तिनबाट तयार भएका तीन नयाँ वैज्ञानिक उपलब्धि पनि सार्वजनिक गरेको छ। यसमा विशेष प्रकारको जीपीयू अप्टिमाइजेसन र पहिले खिचिएका तस्बिर प्रयोग गरी तयार पारिएको शुक्र ग्रहको उच्च रिजोल्युसन नक्सा पनि समावेश छन्।
अघिल्ला संस्करणजस्तै फेबल ५.१ र माइथोज ५.१ सँग पनि विस्तृत ‘सिस्टम कार्ड’ सार्वजनिक गरिएको छ। यसले मोडेलका क्षमता र जोखिमलाई विस्तृत रूपमा व्याख्या गर्छ।
सिस्टम कार्डका अनुसार स्वचालित एआई विकास अर्थात् एआईले आफैंलाई सुधार गर्ने सम्भावनासँग सम्बन्धित जोखिममा माइथोसलाई ‘कम जोखिम’को श्रेणीमा राखिएको छ। यस्तो क्षमतालाई कतिपयले भविष्यमा मानव नियन्त्रण गुम्ने सम्भावनासँग जोडेर हेर्ने गरेका छन्। तर एन्थ्रोपिकका अनुसार माइथोसको आन्तरिक एआई अनुसन्धान तथा विकासलाई तीव्र बनाउने क्षमता अहिले देखिएका प्रवृत्तिसँग मेल खान्छ।
सामान्य गलत व्यवहारका विषयमा भने माइथोस ५.१ ओपस ५ भन्दा केही बढी संवेदनशील देखिएको सिस्टम कार्डमा उल्लेख छ। यसको कारण मोडेलको बढेको क्षमता हुन सक्ने जनाइएको छ।
सिस्टम कार्डका अनुसार माइथोस ५.१ समग्र रूपमा गलत दिशामा जाने व्यवहारका हिसाबले ओपस ५ भन्दा केही कमजोर भए पनि माइथोस ५ र क्लाउड सोननेट ५ भन्दा सुधारिएको छ। यसले ओपस ५ को तुलनामा मानवको गलत प्रयोगमा केही बढी सहयोग गर्ने र प्रमाणित गर्न नसकिने अनुमति दाबीलाई सहजै स्वीकार गर्ने सम्भावना देखाउँछ। तर स्पष्ट रूपमा तोकिएका सीमाना बेवास्ता गर्ने, नभएका इनपुट सिर्जना गर्ने वा काम पूरा नगरे पनि पूरा गरेको दाबी गर्ने सम्भावना भने अघिल्ला मोडेलको तुलनामा कम रहेको एन्थ्रोपिकले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार