काठमाडौं ।
नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीन स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। टेलिकमले आज धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याएको हो।
यी तीन साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११३ वटा सञ्चालनमा आएका छन्। यससँगै बाढीअघि सेवा उपलब्ध रहेका अधिकांश स्थानमा नेपाल टेलिकमको नेटवर्क पहुँच पुनःस्थापित भएको कम्पनीले जनाएको छ।
कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।
त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ।
नेपाल टेलिकमले बाढीबाट प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गर्दै आएको छ। यसअघि टेलिकमले भदौ १२ गतेसम्म ८० साइट र भदौ १३ गते थप सात साइट सञ्चालनमा ल्याएको थियो।
कम्पनीका अनुसार प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालनमा रहेका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम भइरहेको छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार