काठमाडौं ।
प्रेस काउन्सिल नेपालले प्राकृतिक विपद्जस्ता घटनाबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण र सहयोगसँग सम्बन्धित समाचार तथा सामग्री सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।
काउन्सिलले जारी गरेको ध्यानाकर्षण पत्रमार्फत बालबालिकाको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी समाचार, भिडियो तथा तस्वीर सम्प्रेषण गर्न अनुरोध गरेको हो।
ध्यानाकर्षण पत्रमा विपद्जस्ता संवेदनशील परिस्थितिमा बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले सञ्चार सामग्री सम्प्रेषण गर्दा विशेष सजगता अपनाउनुपर्ने उल्लेख गरिएको छ।
काउन्सिलले बालबालिकाको असहाय अवस्था देखाएर उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ। साथै, राहत तथा उद्धारका नाममा बालबालिकालाई हानि पुग्ने, तत्कालीन वा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गतिविधि र सामग्री सम्प्रेषण नगर्न पनि सचेत गराइएको छ।
त्यस्तै, बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने तस्वीर, भिडियो वा अन्य श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र उनीहरूको गोपनीयता तथा मर्यादामा प्रतिकूल असर पर्ने किसिमका सामग्रीबाट बच्न काउन्सिलले आग्रह गरेको छ।
प्रेस काउन्सिलले विपद्बाट पीडित तथा प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पर्न नदिने, उनीहरूको आत्मसम्मान र मर्यादाको संरक्षण गर्ने गरी समाचार तथा सामग्री सम्प्रेषण गर्न पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासँग हार्दिक अनुरोध गरेको छ।
बालबालिकासम्बन्धी सञ्चार सामग्रीमा संवेदनशीलता अपनाउनुपर्ने विषय प्रेस काउन्सिलका आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिकासँग पनि सम्बन्धित छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार