काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले सफ्टवेयर इन्जिनियरिङ, अनुसन्धान तथा वित्तीय विश्लेषणजस्ता कामका लागि लक्षित नयाँ ओपन–सोर्स एआई मोडल सार्वजनिक गरेको छ।
टेन्सेन्टले शुक्रबार ओपन–सोर्स एआई मोडलको भण्डारका रूपमा रहेको हगिङ फेसमा ‘एचवाई४ प्रिभ्यू’ नामको मोडलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार एचवाई४ मा ‘मिक्सचर अप एक्सपर्ट्स’ (एमओई) आर्किटेक्चर प्रयोग गरिएको छ। यसमा कुल ७७० अर्ब प्यारामिटर रहेका छन्। तर कुनै एउटा टेक्स्ट अनुरोध प्रशोधन गर्दा करिब ४९ अर्ब प्यारामिटर मात्र सक्रिय हुने टेन्सेन्टले जनाएको छ।
नयाँ मोडललाई विशेषगरी सफ्टवेयर विकास, जटिल अनुसन्धान, वित्तीय विश्लेषणलगायतका कार्यमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। टेन्सेन्टले भविष्यमा यसलाई आफ्ना विभिन्न उत्पादनसँग एकीकृत गर्ने योजना पनि बनाएको छ। कम्पनीका कोड बड्डी र वर्कबड्डी जस्ता उत्पादनमा एचवाई४ प्रयोग गरिने बताइएको छ।
यद्यपि, टेन्सेन्टले सार्वजनिक गरेको यो प्रारम्भिक संस्करणमा केही सीमितता रहेको जनाएको छ। जटिल प्रश्नको उत्तर खोज्दा मोडलले आवश्यकभन्दा बढी समय लिन सक्ने तथा आफ्नै उत्तरलाई पटक–पटक प्रमाणीकरण गर्ने प्रवृत्ति देखाउन सक्ने कम्पनीले उल्लेख गरेको छ।
टेन्सेन्टले एआई क्षेत्रमा आफ्नो लगानी बढाइरहेको समयमा एचवाई४ सार्वजनिक गरेको हो। चीनमा एआई मोडल विकास गर्ने कम्पनीबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। अलिबाबा, बाइडु, डीपसिकलगायतका चिनियाँ कम्पनीले पनि ठूला भाषा मोडल र एआई एजेन्टको विकासमा लगानी बढाइरहेका छन्।
टेन्सेन्टले यसअघि अप्रिलमा हुनयुआन ३.० नामक ठूलो भाषा मोडल सार्वजनिक गरेको थियो। यो मोडल कम्पनीले एआई प्लेटफर्म विकासको नेतृत्व गर्न पूर्व–ओपनएआई अनुसन्धानकर्ता याओ शुन्युलाई नियुक्त गरेपछि सार्वजनिक गरेको पहिलो ठूलो मोडल थियो।
एचवाई४को ओपन–सोर्स पूर्वावलोकन सार्वजनिक भएसँगै टेन्सेन्टले आफ्ना एआई मोडललाई अनुसन्धान तथा व्यावसायिक प्रयोगका लागि थप खुला बनाउँदै प्रतिस्पर्धी एआई बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको देखिन्छ।
प्रकाशित: १७ भाद्र २०८३, बुधबार