काठमाडौं ।
यूरोपले सार्वजनिक लगानीमा सञ्चालन हुने एआई सुपर कम्प्युटरको नेटवर्क विस्तार गरिरहेको छ। यसै क्रममा फ्रान्सको सरकारी स्वामित्वमा रहेको बुलबाट ३८ करोड ७८ लाख यूरो (४४ करोड ९४ लाख अमेरिकी डलर)को प्रणाली खरिद गर्न लागिएको छ। अमेरिका र चीनसँग रहेको कम्प्युटिङ क्षमताको अन्तर घटाउने प्रयासअन्तर्गत यूरोपले यस्तो कदम अघि बढाएको हो।
बुलले सोमबार आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ठेक्का भएको बताएको छ। केही महिनाअघि मात्र फ्रान्स सरकारले ऋणमा डुबेको एटोसबाट बुलको व्यवसाय छुट्याएर अधिकतम ४० करोड ४० लाख युरोमा आफ्नो स्वामित्वमा लिएको थियो।
रोयटर्सका अनुसार यूरोपेली संघको सुपर कम्प्युटिङ निकाय युरोहाइपीसीले एआई फ्याक्ट्री कार्यक्रमअन्तर्गत निर्माण हुने छैटौं सुपर कम्प्युटरका लागि बुललाई छनोट गरेको हो।
‘लुमी–एआई’ नाम दिइएको यो नयाँ सुपर कम्प्युटर फिनल्यान्डको सुपर कम्प्युटिङ केन्द्रमा रहेको हालको लुमी सुपर कम्प्युटरसँगै स्थापना गरिनेछ। यो सन् २०२७ को दोस्रो छमाहीदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यस परियोजनाको खर्च यूरोहाइपीसी र लुमी एआई फ्याक्ट्री कन्सोर्टियमले बराबर व्यहोर्नेछन्। उक्त कन्सोर्टियममा फिनल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, नर्वे र पोल्यान्ड सहभागी छन्।
यो अर्डर यूरोहाइपीसीले वर्षौंदेखि निर्माण गर्दै आएको सुपर कम्प्युटिङ नेटवर्कमा थपिएको अर्को महत्वपूर्ण परियोजना हो। सन् २०२१ देखि २०२७ सम्मका लागि ८.२ अर्ब यूरो बजेट रहेको यस संयुक्त कार्यक्रमले १२ वटा सुपर कम्प्युटरमा आधारित १९ वटा एआई फ्याक्ट्री केन्द्रको नेटवर्क तयार गरेको छ। यसले अब थप सातवटासम्म नयाँ केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ।
बुलले ठूलो स्तरमा एआई मोडलको प्रशिक्षण र सञ्चालन तथा जटिल वैज्ञानिक अनुसन्धानका लागि आवश्यक सिमुलेसन गर्न सक्ने गरी यो प्रणाली निर्माण गर्नेछ। यसको कम्प्युटिङ क्षमता एनभिडियाको मुख्य प्रतिस्पर्धी एएमडीका चिपबाट उपलब्ध हुनेछ। भण्डारण प्रणाली आईबीएमले र नेटवर्किङ प्रविधि नोकियाले उपलब्ध गराउनेछन्।
यूरोपका सुपर कम्प्युटरको एआई क्षमता परीक्षणमा पनि प्रयोग हुन थालेको छ। यूरोपको सबैभन्दा ठूलो क्लाउड कम्पनी ओभीएचक्लाउडले यसअघि रोयटर्सलाई जुपिटर सुपर कम्प्युटरमा एउटा आधारभूत एआई मोडलको प्रारम्भिक प्रशिक्षण पूरा गरेको बताएको थियो।
त्यस्तै यूरोपेली आयोगको समर्थनमा रहेको ‘युरोपा’ कन्सोर्टियमको नेतृत्व गर्ने इटालीको स्टार्टअप डोमिनले पनि आफ्नै एआई मोडल प्रशिक्षणका लागि युरोहाइपीसीका सुपर कम्प्युटिङ प्रणालीमा पहुँच पाएको छ। कम्पनीले ४०० अर्ब प्यारामिटरसम्मको एआई मोडल विकास गर्ने लक्ष्य राखेको छ।
तर ओभीएचक्लाउड र डोमिन दुवैले अहिलेसम्म आफ्ना एआई मोडल वा त्यसको प्राविधिक विवरण सार्वजनिक गरेका छैनन्। दुवै कम्पनी पेरिसस्थित मिस्त्रालसँगै यूरोपका अत्याधुनिक एआई विकासकर्ता बन्ने प्रयासमा छन्।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार