ड्रोन र रोबोटमाथि अवरोध बढाउँदै अमेरिका, त्यसलाई पार गर्ने उत्पादन क्षमता रहेको चीन: कस्तो रहला टक्कर?

  • Technology Khabar | १६ भाद्र २०८३, मंगलवार
ड्रोन र रोबोटमाथि अवरोध बढाउँदै अमेरिका, त्यसलाई पार गर्ने उत्पादन क्षमता रहेको चीन: कस्तो रहला टक्कर?
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

जुलाई र अगस्टमा वासिङ्टनले विदेशमा बनेका उन्नत रोबोटिक प्रणालीमाथि प्रतिबन्ध कडा बनायो र आयात हुने ड्रोन तथा तिनका पार्टपुर्जामा ठूलो शुल्क लगायो।

दुवै कदममा राष्ट्रिय सुरक्षालाई कारण बनाइएको छ। ड्रोनमा लगाइएको शुल्क सेप्टेम्बरदेखि लागू हुनेछ भने थप पार्टपुर्जामा २०२७ देखि शुल्क लगाइनेछ।

यी कदम रणनीतिक रूपमा महत्वपूर्ण उद्योगमा विदेशी प्रविधिको प्रयोग सीमित गर्ने अमेरिकाको ठूलो प्रयासको हिस्सा हुन्। सन् २०२१ मा स्थापना गरिएको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) को ‘कभर्ड लिस्ट’ ले सुरुमा ह्वावे, जेडटीई र हिकभिजनलगायत कम्पनीका दूरसञ्चार तथा निगरानी उपकरणलाई लक्षित गरेको थियो। पछि यसमा विदेशमा बनेका ड्रोन र पछिल्लो समय उन्नत रोबोटिक उपकरण पनि थपिएका छन्।

पछिल्लो कदम यस्तो समयमा आएको छ, जतिबेला चिनियाँ उत्पादकहरूले ड्रोन र ह्युमानोइड रोबोट दुवै क्षेत्रमा बलियो स्थान बनाएका छन्। उनीहरूले अमेरिकी र युरोपेली प्रतिस्पर्धीलाई कठिन पर्ने मूल्यमा पनि उत्पादन गरिरहेका छन्।

यी प्रतिबन्धलाई एकसाथ हेर्दा विश्वको रोबोटिक्स उद्योगसामु एउटा ठूलो प्रश्न उठेको छ : चिनियाँ ड्रोन र ह्युमानोइड रोबोटलाई अमेरिकामा प्रवेश गर्न थप कठिन बनाइएपछि प्रतिस्पर्धा अब कहाँ जान्छ?

यी प्रतिबन्धले अमेरिकी बजारका केही भागलाई सुरक्षित गर्न सक्छन्। तर चीनको विश्वव्यापी उत्पादन क्षमता र कम लागतमा उत्पादन गर्ने फाइदालाई भने यसले प्रत्यक्ष रूपमा सम्बोधन गर्दैन।

टेकक्रन्चका अनुसार उद्योग विश्लेषक र अधिकारीहरूले यसको परिणाम अमेरिका–चीनबीच स्पष्ट रूपमा छुट्टिएको बजारभन्दा फरक हुन सक्ने बताएका छन्।

विश्व बजार अझ धेरै भागमा विभाजित हुन सक्छ। चिनियाँ कम्पनीहरू अन्य देशमा विस्तार हुन सक्छन् भने अमेरिका र उसका साझेदार देशका उत्पादकहरूले सुरक्षा आवश्यकता बढी महत्वपूर्ण हुने बजारमा प्रतिस्पर्धा गर्न सक्छन्।

स्केलको अन्तर

अमेरिका र चीनको रोबोटिक्स उद्योग अझै एकअर्कासँग जोडिएका छन्। तर प्रतिस्पर्धामा दुवै देशका फाइदा फरक छन्। टीडीके भेन्चर्सका लगानी निर्देशक अन्कुर सक्सेनाका अनुसार सेमिकन्डक्टरको जस्तो एउटा मात्र प्रविधिमा रोबोटिक्स निर्भर छैन, जसलाई कुनै एउटा देशले सजिलै नियन्त्रण गर्न सकोस्।

काउन्टरपोइन्टको रिपोर्टअनुसार यस वर्षको पहिलो ६ महिनामा विश्वभर ह्युमानोइड रोबोटको ढुवानी २२ हजार युनिट पुगेको छ। यसको ठूलो हिस्सा चिनियाँ उत्पादकले आपूर्ति गरेका छन्। यसको तुलनामा अमेरिकी कम्पनीहरू निकै सानो स्तरमा सञ्चालन भइरहेका छन्, काउन्टरपोइन्ट रिसर्चका प्रमुख विश्लेषक सौमेन मण्डलले बताए।

ढुवानीका आधारमा विश्वका पाँच ठूला ह्युमानोइड रोबोट निर्माता—एजिबोट, युनिट्री, गाल्बोट, यूबीटेक र लेजु रोबोटिक्स—सबै चिनियाँ कम्पनी हुन्। यी कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा विश्वभर भएका ह्युमानोइड रोबोट ढुवानीको ८६ प्रतिशत हिस्सा ओगटेका थिए।

यो फाइदा अझ बढ्न सक्छ। कम मूल्यका कारण चिनियाँ उत्पादकले धेरै रोबोट प्रयोगमा ल्याउन सक्छन्। यसबाट वास्तविक प्रयोगको तथ्यांक प्राप्त हुन्छ, जसले उनीहरूको प्रविधि सुधार गर्न मद्दत गर्छ। उत्पादनको मात्रा बढ्दै जाँदा लागत अझ घट्न सक्ने सक्सेनाले बताए।

मण्डलका अनुसार चिनियाँ ह्युमानोइड रोबोट निर्माता कम्पनीहरूले प्रविधिको धेरै भाग आफैं विकास गरेर र चीनमा रहेको ठूलो उत्पादन आधारको उपयोग गरेर लागत घटाइरहेका छन्।

उदाहरणका लागि, युनिट्रीले थप पार्टपुर्जा आफैं विकास गरिरहेको छ। त्यस्तै, एक्सपेङजस्ता अटोमोबाइल कम्पनीले रोबोटिक्स क्षेत्रमा प्रवेश गर्दा चिप र सवारीसाधन उत्पादनको आफ्नो अनुभव प्रयोग गर्न सक्छन्।

“अमेरिका अत्याधुनिक एआई, सफ्टवेयर र सेमिकन्डक्टर प्रविधिमा अगाडि छ,” सक्सेनाले टेकक्रन्चसँग भने। “चीन उत्पादनको स्केल, आपूर्ति शृंखलाको गहिराइ र लागतमा अगाडि छ।”

यही उत्पादन क्षमताका कारण चिनियाँ कम्पनीहरूले अधिकांश अमेरिकी प्रतिस्पर्धीले मिलाउन नसक्ने गरी ह्युमानोइड रोबोटको मूल्य घटाउन सकेका छन्।

“तपाईंले प्रतिबन्ध लगाएर लागतको समस्यालाई पार गर्न सक्नुहुन्न। त्यसका लागि बढी उत्पादन गर्नुपर्छ। अमेरिकाले त्यसका लागि आवश्यक पर्ने दशक लामो लगानी अझै सुरु गरेको छैन,” सक्सेनाले भने।

चीन अब कहाँ जान्छ?

यसको उत्तर अमेरिकाबाहिर हुन सक्छ। चिनियाँ रोबोटिक्स कम्पनीले अमेरिकी बजारमा पहुँच गुमाए पनि उनीहरूसँग ठूलो घरेलु बजार छ र अन्य देशमा विस्तार हुने अवसर पनि छ। विशेषगरी सस्तो स्वचालन प्रविधिको माग बढिरहेका क्षेत्रमा उनीहरूले विस्तार गर्न सक्छन्, सक्सेनाले बताए।

मण्डलका अनुसार चिनियाँ रोबोटिक्स कम्पनीहरूले युरोप, दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वका श्रमिकको अभाव भएका तथा मूल्यप्रति संवेदनशील बजारलाई पहिले नै लक्षित गरिरहेका छन्।

मण्डलका अनुसार ह्युमानोइड रोबोट निर्माता कम्पनीहरूले चिनियाँ विद्युतीय सवारी कम्पनीले अपनाएको बाटो पछ्याउन सक्छन्। उनीहरूले पहिले चीनमा ठूलो स्तरमा उत्पादन गर्ने, त्यसपछि विदेशका बजारमा विस्तार गर्ने र अन्ततः स्थानीय उत्पादन सुरु गर्ने सम्भावना छ।

ड्रोन
सांकेतिक फाइल तस्बिर

श्रमिकको अभाव र जनसंख्या घट्दो अवस्थामा रहेका देश ह्युमानोइड रोबोटका प्रारम्भिक बजार बन्न सक्छन्। विशेषगरी उत्पादन क्षेत्रमा दोहोरिरहने काम रोबोटले गर्न सक्छन्।

ड्रोन बजारले यस्तो विभाजित रोबोटिक्स बजार कस्तो हुन सक्छ भन्ने प्रारम्भिक संकेत दिइरहेको छ। भर्जिनियास्थित ड्रोन निर्माता हेभेन एयरोटेकका संस्थापक तथा प्रमुख कार्यकारी बेन्टजियोन लेभिन्सनका अनुसार उद्योग दुईवटा प्रणालीतर्फ विभाजित हुँदैछ।

एउटा अमेरिकी नेतृत्वको बजार हो, जहाँ अमेरिकामा बनेका र एनडीएएअनुसारका प्रणालीमा जोड दिइन्छ। अर्को चीन नेतृत्वको बजार हो, जहाँ कम लागतमा ठूलो मात्रामा उत्पादनमा जोड दिइन्छ।

लेभिन्सनका अनुसार कम मूल्यका उपभोक्ता ड्रोन बजारमा पश्चिमी उत्पादकले चिनियाँ कम्पनीलाई जित्न कठिन हुनेछ, किनकि लागत चिनियाँ कम्पनीको ठूलो फाइदा हो।

यसको सट्टा अमेरिकी तथा उसका साझेदार देशका कम्पनीले लामो दूरीका स्वचालित ड्रोन प्रणालीमा प्रतिस्पर्धा गर्न सक्छन्। विशेषगरी रक्षा र महत्वपूर्ण पूर्वाधारका क्षेत्रमा सुरक्षा आवश्यकतालाई बढी महत्व दिइन्छ।

लेभिन्सनका अनुसार आगामी प्रतिस्पर्धा ड्रोनमै सीमित नभई त्यसलाई चलाउने प्रविधि र ड्रोनले बोक्ने उपकरणतर्फ पनि सर्न सक्छ। “अर्को प्रतिस्पर्धा नयाँ पुस्ताको ऊर्जा र पेलोड प्रविधिमाथि कसको नियन्त्रण हुन्छ भन्नेमा हुनेछ,” उनले भने। उनले विशेषगरी ब्याट्रीको सीमिततालाई महत्वपूर्ण विषयका रूपमा औंल्याए। ड्रोन थप सक्षम हुँदै जाँदा ऊर्जा प्रणाली प्रतिस्पर्धाको महत्वपूर्ण क्षेत्र बन्न सक्ने उनले बताए।

एजिलिटी रोबोटिक्सले जुलाईमा एफसीसीको निर्णयको स्वागत गरेको थियो। कम्पनीले विदेशी निर्मित उन्नत रोबोट अमेरिकी बजारमा ठूलो रूपमा प्रयोग हुनुअघि नै त्यससँग जोडिएका सुरक्षा चिन्तालाई सम्बोधन गर्न सकिने बताएको थियो।

ड्रोन उद्योगमा जस्तै समस्या रोबोटमा पनि आउन नदिन यस्तो कदम आवश्यक रहेको कम्पनीको भनाइ थियो। कम्पनीले अमेरिकामै डिजाइन र एसेम्बल गरिएको आफ्नो डिजिट ह्युमानोइड रोबोटको उदाहरण दिँदै रोबोटिक्स अनुसन्धान अघि बढाउन आवश्यक उपकरण र प्रविधिमा निरन्तर पहुँच हुनुपर्ने पनि बताएको थियो।

क्षेत्रीय बन्दै रोबोटिक्स बजार

“चीनको विकल्प भनेको पूर्ण रूपमा अमेरिकी घरेलु आपूर्ति शृंखला होइन, बरु साझेदार देशमा विविधीकरण गरिएको आपूर्ति शृंखला हो,” सक्सेनाले भने।

यसबाट एसियाका अन्य देशले पनि अवसर पाउन सक्छन्। जापानसँग औद्योगिक रोबोटिक्स र उच्च सटीकता भएको उत्पादनको दशकौंको अनुभव छ। दक्षिण कोरियासँग इलेक्ट्रोनिक्स, ब्याट्री र अटोमोबाइल क्षेत्रमा बलियो क्षमता छ।

ताइवान सेमिकन्डक्टर उद्योगमा महत्वपूर्ण देश हो। तर विश्वको रोबोटिक्स उद्योगमा चिनियाँ पार्टपुर्जाको प्रयोग गहिरो भएकाले यीमध्ये कुनै पनि देशले चीनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने सक्सेनाले बताए।

मण्डलका अनुसार एसियाली उत्पादकले कम लागतका चिनियाँ रोबोट र महँगा अमेरिकी रोबोटबीचको बीचको बजार लिन सक्छन्। बोस्टन डाइनामिक्सको स्वामित्व रहेको दक्षिण कोरियाको ह्युन्डाई र जापानको टोयोटालगायत अटोमोबाइल कम्पनीले रोबोटिक्समा लगानी गरिरहेका छन्। यी कम्पनीले ह्युमानोइड रोबोट विकास गर्दा सवारीसाधन, उत्पादन र स्वचालित प्रणालीमा रहेको आफ्नो अनुभव प्रयोग गरिरहेका छन्।

क्यालिफोर्नियास्थित एग्रिटेक स्टार्टअप बीगल टेक्नोलोजीका याङ फाङले टेकक्रन्चसँग भने, रोबोटिक्स उद्योग थप क्षेत्रीय बन्न सक्छ। कम्पनीहरूले आफ्नै बजारका श्रमिकको आवश्यकता, काम गर्ने अवस्था र ग्राहकलाई ध्यानमा राखेर मेसिन डिजाइन गर्न सक्छन्।

फोटो सौजन्यः टेलिग्राफ

उनका अनुसार चिनियाँ रोबोटिक्स कम्पनीले चीन र आसपासका बजारका लागि उपयुक्त उत्पादनमा ध्यान दिन सक्छन् भने अमेरिकी कम्पनीले उत्तर अमेरिकाका उद्योगका लागि उत्पादन गर्ने सम्भावना बढी छ।

यसको परिणाम अमेरिका र चीनको नेतृत्वमा दुईवटा मात्र छुट्टाछुट्टै रोबोटिक्स उद्योग बन्ने नहुन सक्छ। बरु यी प्रतिबन्धले क्षेत्रीय बजारको विकासलाई तीव्र बनाउन सक्छन्। चीनका कम्पनीले विश्वका धेरै बजारमा लागत र उत्पादन क्षमताका आधारमा प्रतिस्पर्धा गर्न सक्छन्।

अमेरिका र उसका साझेदार देशका उत्पादकले सुरक्षा आवश्यकता बढी महत्वपूर्ण हुने बजारमा आफ्नो स्थान बलियो बनाउन सक्छन्। जापान, ताइवान र दक्षिण कोरियाका उत्पादकले यी दुईबीच आफ्नो स्थान बनाउन प्रयास गर्न सक्छन्।

प्रकाशित: १६ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार