काठमाडौं ।
अमेरिकी प्रविधि कम्पनी ओपनएआईले ऊर्जा तथा डाटा सेन्टर पूर्वाधार कम्पनी एसबी इनर्जीमा करिब ५.५ अर्ब अमेरिकी डलर बराबरको वारेन्ट पाएको द वाल स्ट्रिट जर्नल (डब्लूएसजे) ले जनाएको छ।
डब्लूएसजेले आइतबार प्रकाशित रिपोर्टमा एसबी इनर्जीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी मस्यौदा कागजातलाई उद्धृत गर्दै ओपनएआईलाई उक्त मूल्य बराबरको वारेन्ट जारी गरिएको उल्लेख गरेको छ।
रोयटर्सले भने उक्त विवरणलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। एसबी इनर्जी र ओपनएआईले पनि नियमित कार्यालय समयबाहिर रोयटर्सको टिप्पणीका लागि गरेको अनुरोधको तत्काल जवाफ दिएका छैनन्।
व्यापारिक भाषामा वारेन्ट भनेको “भविष्यमा निश्चित मूल्यमा कुनै कम्पनीको सेयर (शेयर) किन्न पाउने विशेष अधिकार वा छुट” हो। ओपनएआईले एसबी इनर्जीलाई डाटा सेन्टर र ऊर्जा उपलब्ध गराउने ठूलो सम्झौता गरेबापत एसबी इनर्जीले ओपनएआईलाई यो अधिकार/उपहार दिएको हो।
यदि भविष्यमा एसबी इनर्जीको सेयर मूल्य धेरै बढ्यो भने ओपनएआईले तोकिएको सस्तो मूल्यमै सेयर किनेर अर्बौँ डलर फाइदा कमाउन सक्छ। त्यसैले यो ओपनएआईका लागि सकारात्मक खबर हो।
यो सम्झौता ओपनएआईको बढ्दो एआई कम्प्युटिङ र डाटा सेन्टर पूर्वाधार आवश्यकतासँग जोडिएको छ। एसबी इनर्जीले ठूला स्तरका ऊर्जा तथा डाटा सेन्टर पूर्वाधार परियोजना विकास गर्दै आएको छ।
यसै महिनाको सुरुवातमा एनभिडियाले एसबी इनर्जीमा १.५ अर्ब डलर लगानी गरेको थियो। साथै ओपनएआईले ओहायोमा एसबी इनर्जीले विकास गरिरहेको डाटा सेन्टर भाडामा लिनका लागि १०५ अर्ब डलरसम्मको ग्यारेन्टी उपलब्ध गराउने सहमति पनि एनभिडियाले गरेको थियो।
रिपोर्टअनुसार सफ्टब्याङ्क ग्रुप र ओपनएआई एसबी इनर्जीले निर्माण गरिरहेका तीनवटा डाटा सेन्टरका प्रस्तावित भाडावाला हुन्।
यसअघि रोयटर्सले स्रोतलाई उद्धृत गर्दै एसबी इनर्जीले बजारमा प्रवेश गर्दा ५० अर्ब डलरभन्दा बढी मूल्यांकन हासिल गर्न सक्ने जनाएको थियो। कम्पनीको आईपीओ आगामी महिनामै आउन सक्ने अनुमान गरिएको छ।
सफ्टबैंकको सहायक कम्पनी एसबी इनर्जी सन् २०१९ मा स्थापना भएको हो। कम्पनीले एआईसम्बन्धी कामको बढ्दो माग पूरा गर्न ठूला डाटा सेन्टर क्याम्पस तथा ऊर्जा पूर्वाधार विकास गरिरहेको छ।
एआई मोडलको प्रशिक्षण र सञ्चालनका लागि अत्यधिक विद्युत् तथा कम्प्युटिङ क्षमता आवश्यक पर्ने भएकाले यस्ता पूर्वाधारमा प्रविधि कम्पनी र लगानीकर्ताको चासो तीव्र रूपमा बढिरहेको छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार