बाढी प्रभावित क्षेत्रको थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

  • Technology Khabar | १३ भाद्र २०८३, शनिबार
बाढी प्रभावित क्षेत्रको थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ। यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो।

रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ।

यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन्। उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो। यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका छन्।

यसै बिच फिल्डमा खटिएका प्राविधिकहरुको मनोबल उच्च राख्न तथा सेवा सुचारु कार्यलाई थप प्रभावकारी बनाउनका लागि कम्पनीका प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) समेत नुवाकोट लगायतका प्रभावित क्षेत्र पुगेका छन्।

यस अघि उनले नेपाल टेलिकमको बबरमहलस्थित विपद व्यवस्थापन कक्षको बैठकमा सहभागी भई सेवा सुचारु कार्यवारे विभिन्न जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएकी थिइन।

यसै सन्दर्भमा प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री र सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा नेपाल टेलिकमले गरिरहेको सेवा सुचारु कार्यको विवरण प्रस्तुत गरेका थिए।

विपदको यस अवस्थामा सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

प्रकाशित: १३ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...