काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्दा अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न सरकारले आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बाढीपीडितका नाममा विभिन्न व्यक्ति, समूह तथा संस्थाले जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारले विपद्को अवस्थामा प्राप्त हुने सहयोगको दुरुपयोग हुन नदिन तथा सहयोग रकमको उचित व्यवस्थापन र पारदर्शिता कायम गर्न सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोडमार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
सूचनामा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले ‘PRIME MINISTER DISASTER RELIEF FUND’ वा ‘PRIME MINISTER RELIEF FUND’ का नाममा रहेका आधिकारिक खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम अघि बढाइरहेको जनाएको छ।
बाढी प्रभावितको तत्काल उद्धार तथा राहतसँगै विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने भएकाले सरकारले स्वदेश तथा विदेशमा रहेका नागरिक, संघसंस्था र दातालाई आधिकारिक कोषमा सहयोग गर्न अपिल गरेको छ।
सरकारले सार्वजनिक गरेको आधिकारिक माध्यमबाहेक अन्य क्यूआर कोड वा व्यक्तिगत खातामा रकम जम्मा गर्दा सहयोग रकम दुरुपयोग हुन सक्ने भएकाले सहयोगकर्तालाई सचेत रहन आग्रह गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार