काठमाडौं ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक स्याटेलाइट फोन उपलब्ध गराउन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पर्वतारोहण तथा एक्सपेडिसन कम्पनी र इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई आग्रह गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै स्याटेलाइट फोन भएका पर्वतारोहण तथा एक्सपेडिसन कम्पनी र इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई विपद्को व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन्।
उनले आफ्नो मोबाइल नम्बरसमेत राखेर सहयोग गर्न इच्छुक कम्पनी तथा संस्थाले सोही नम्बरमा एसएमएस गर्न अनुरोध गरेका छन्। उनका अनुसार विपद् व्यवस्थापनका लागि तत्काल स्याटेलाइट फोन आवश्यक भएकाले भरपाई गरेर फोन लिइने र प्रयोगपछि फिर्ता गरिनेछ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ। बाढीले नेपाल टेलिकम, एनसेल तथा विभिन्न इन्टरनेट सेवा प्रदायकका टावर, अप्टिकल फाइबर र प्वाइन्ट अफ प्रेजेन्स (पीओपी) संरचनामा क्षति पुर्याउँदा कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ।
सञ्चार पूर्वाधारमा क्षति पुगेको अवस्थामा स्याटेलाइट फोनले स्थलीय मोबाइल नेटवर्क वा अप्टिकल फाइबरमा निर्भर नभई सञ्चार सम्पर्क कायम गर्न सक्ने भएकाले उद्धार तथा राहत टोलीका लागि उपयोगी हुने देखिन्छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कलाई निरन्तरता दिन नेपाल टेलिकम तथा एनसेलले प्रभावित सेवाग्राहीलाई निःशुल्क भ्वाइस कल, डाटा र एसएमएसलगायतका सुविधा उपलब्ध गराएका छन्। साथै क्षतिग्रस्त दूरसञ्चार संरचना मर्मत तथा सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार