काठमाडौं ।
बेलायतका सिनेमा हलले मेटाका एआईसहितका स्मार्ट चस्माको प्रयोगमा प्रतिबन्ध वा सीमितता लगाउनेबारे विचार गरिरहेका छन्। यी चस्माको प्रयोगबाट फिल्म गोप्य रूपमा रेकर्ड गर्न सकिने चिन्ता बढेपछि यस्तो विचार गरिएको हो।
यूके सिनेमा एसोसिएसन (यूकेसीए) ले प्रमुख सिनेमा सञ्चालकहरूले यो प्रविधिप्रति कसरी प्रतिक्रिया दिने भन्नेबारे मूल्यांकन गरिरहेको जनाएको छ। यी चस्माको फ्रेममै क्यामेरा जडान गरिएको हुन्छ र यसले सजिलै फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न अनुमति दिन्छ।
अहिलेसम्म सबै सिनेमा हलमा एकैपटक प्रतिबन्ध लगाइएको छैन। सिनेमा सञ्चालकहरूले पाइरेसी नियन्त्रण र गोपनीयताको विषयसँगै दृष्टि वा श्रवणसम्बन्धी समस्या भएका मानिसका लागि यी उपकरणले दिने फाइदाबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छन्।
मेटाका चस्मा निकै लोकप्रिय बनेका छन्। सन् २०२५ मा मात्रै ७० लाखभन्दा बढी जोडी बिक्री भएको बताइएको छ।
क्यामेराका अतिरिक्त यी चस्माबाट एआईसँग कुराकानी गर्न, संगीत सुन्न र फोन कल गर्न पनि सकिन्छ।
बेलायतका केही व्यवसायले भने यसबारे पहिले नै कदम चालिसकेका छन्।
टेलिग्राफका अनुसार वेदरस्पुन्सले आफ्ना पबमा यी चस्मामार्फत रेकर्डिङ गर्न अनुमति दिएको छैन। त्यस्तै, धेरै ठूला थिएटर सञ्चालन गर्ने एटीजी थिएटरले पनि रेकर्डिङका लागि यी चस्माको प्रयोग गर्न नदिने घोषणा गरेको छ।
बेलायती अदालतले पनि अदालत कक्षमा फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध रहेकाले मेटाका चस्माको प्रयोगमा रोक लगाएका छन्।
अर्कोतर्फ, मेटाले सबै ठाउँमा सामान्य प्रतिबन्ध लगाउने कदमको विरोध गरेको छ। कम्पनीले दृष्टिसम्बन्धी समस्या भएका मानिसका लागि यी चस्मा महत्वपूर्ण सहयोगी उपकरण बन्न सक्ने बताएको छ।
कम्पनीले चस्मामा फोटो खिच्दा वा भिडियो रेकर्ड गर्दा बत्ती बल्ने व्यवस्था रहेको पनि जनाएको छ। यसबाट वरपरका मानिसलाई क्यामेरा प्रयोग भइरहेको जानकारी हुने मेटाको तर्क छ।
प्रकाशित: ६ भाद्र २०८३, शनिबार