काठमाडौं ।
अमेरिकी मनोरञ्जन कम्पनी डिज्नी र चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुने सामग्रीमा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि सहकार्य गर्ने भएका छन्।
बाइटडान्सको सीडान्स भिडियो र सीड्रिम तस्बिर निर्माण गर्ने एआई मोडललाई लिएर उठेको विवादपछि दुई कम्पनीबीच यस्तो सहमति भएको हो।
रोयटर्सका अनुसार सम्झौताअन्तर्गत बाइटडान्सले आफ्ना एआई मोडलमार्फत सिर्जना हुने सामग्रीमा प्रतिलिपि अधिकार तथा अन्य बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
यसअघि फेब्रुअरीमा मोसन पिक्चर एसोसिएसन (एमपीए) ले बाइटडान्सलाई सीडान्स र सीड्रिमजस्ता एआई उपकरणले अनुमति नलिई प्रतिलिपि अधिकार भएका फिल्म तथा टेलिभिजनका पात्र र सेलिब्रेटीको स्वरूप प्रयोग गर्न सक्ने भन्दै ‘सीज-एण्ड-डेजिस्ट’ पत्र पठाएको थियो।
डिज्नीसहित विभिन्न फिल्म स्टुडियोले यी एआई उपकरणले प्रतिलिपि अधिकार भएका पात्र तथा कलाकारको स्वरूपलाई अनुमतिबिनै प्रयोग गरी सामग्री उत्पादन गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
बाइटडान्सले भने आफ्ना एआई मोडलका नयाँ संस्करणमा बौद्धिक सम्पत्ति संरक्षणका लागि थप मजबुत सुरक्षा व्यवस्था समावेश गरिएको जनाएको छ। यी एआई मोडलहरू टिकटक, क्यापकट र ड्रीमिनालगायतका सेवामार्फत उपलब्ध छन्।
एआई प्रविधिको तीव्र विकाससँगै प्रतिलिपि अधिकार भएका सामग्रीको अनधिकृत प्रयोगसम्बन्धी विवाद बढिरहेका बेला डिज्नी र बाइटडान्सबीचको यो सहकार्यलाई महत्वपूर्ण मानिएको छ।
दुवै पक्षले एआई प्रविधि विकसित हुँदै जाँदा प्रतिलिपि अधिकार भएका सामग्रीको सुरक्षा र त्यसको दुरुपयोग रोक्ने उपायबारे निरन्तर सहकार्य गर्ने बताएका छन्।
विशेषगरी एआईबाट फिल्म, टेलिभिजन पात्र तथा अन्य सिर्जनात्मक सामग्रीको स्वरूप पुनःनिर्माण गर्न सकिने अवस्थाले मनोरञ्जन उद्योगमा नयाँ कानुनी तथा व्यावसायिक चुनौती सिर्जना गरिरहेको छ।
प्रकाशित: ३ भाद्र २०८३, बुधबार