क्यान महासंघ सुदूरपश्चिम प्रदेशले सुरु गर्यो ‘एआई फर नेपाल २०२६’

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
क्यान महासंघ सुदूरपश्चिम प्रदेशले सुरु गर्यो ‘एआई फर नेपाल २०२६’

काठमाडौं ।

क्यान महासंघ सुदूरपश्चिम प्रदेशले ‘एआई फर नेपाल २०२६’ कार्यक्रम सुरु गरेको छ। २ तहका विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरेको हो।

महर्षि कलेजको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमले माध्यमिक तहको शिक्षाबाट आधुनिक प्रविधिमा आधारित अर्थतन्त्रतर्फ प्रवेश गर्न खोजिरहेका विद्यार्थीलाई एआईको आधारभूत ज्ञानदेखि व्यावहारिक प्रयोगसम्मको जानकारी दिने आयोजकले जनाएको छ।

यस अभियानमार्फत सुदूरपश्चिम प्रदेशसहित नेपालभर एआईसम्बन्धी अनुसन्धान, विकास र शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले बदलिँदो प्रविधिको युगमा एआईसम्बन्धी ज्ञान युवाका लागि महत्वपूर्ण सीप बन्दै गएको भन्दै विद्यार्थी तहबाटै यसको प्रयोग र सम्भावनाबारे जानकारी दिन आवश्यक रहेको बताएका छन्।

त्यस्तै, पीसीपीएसकी चिफ ग्रोथ अफिसर कृपा श्रेष्ठले विद्यार्थीलाई एआईको व्यवस्थित र व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको क्षमता विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन।

एक दिने गहन तालिमका रूपमा सञ्चालन हुने ‘एआई फर नेपाल २०२६’ मा विद्यार्थीलाई एआईको विकास र प्रयोग, जेनेरेटिभ एआई, विभिन्न एआई उपकरणको प्रयोग, प्रम्प्ट इन्जिनियरिङ, वास्तविक जीवनका समस्या समाधान तथा एआईको सुरक्षित र नैतिक प्रयोगबारे प्रशिक्षण दिइनेछ।

तालिममा सहभागी विद्यार्थीले आधुनिक एआई तथा डाटा विज्ञान प्रणालीका आधारभूत अवधारणा, शैक्षिक तथा व्यावहारिक काममा एआईको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, विभिन्न एआई उपकरणको प्रयोग र एआईबाट प्राप्त परिणामको आलोचनात्मक मूल्याङ्कन गर्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधिका निष्क्रिय प्रयोगकर्ताबाट डिजिटल सिर्जनाकर्ता, समस्या समाधानकर्ता तथा नवप्रवर्तकका रूपमा विकास गर्नु हो। एआईलाई भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण सीपका रूपमा विकास गर्दै विद्यार्थी तहबाटै यसको व्यावहारिक प्रयोग विस्तार गर्ने अभियानको लक्ष्य रहेको छ।

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार