नाईमा मोबिलिटी संवादमा आज ब्याट्री रिसाइकलिङदेखि इथानोल मिश्रणसम्मका विषयमा बहस हुँदै

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
नाईमा मोबिलिटी संवादमा आज ब्याट्री रिसाइकलिङदेखि इथानोल मिश्रणसम्मका विषयमा बहस हुँदै

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) को आयोजनामा आज ‘नाईमा मोबिलिटी संवाद’ हुँदैछ। नाईमाको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि भइरहेको नाईमा मोबिलिटी एक्स्पोकै क्रममा हुने संवादमा विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापनदेखि पेट्रोलियम इन्धनमा इथानोल मिश्रणसम्मका विषयमा विज्ञहरूसँग अन्तरक्रिया हने भएको हो।

कार्यक्रम आज शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन अडिटोरियम हलमा आयोजना हुँदैछ। कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

अर्थात् ब्याट्री रिसाइकलिङ र ईन्धनमा ईथानोल मिसाउने सन्दर्भमा ज्ञात अज्ञात तथ्यहरु’ विषयमा केन्द्रित संवादमा नेपाल र भारतका विज्ञ तथा सरोकारवालाले नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा देखिने ब्याट्री रिसाइकलिङ र लाइफसाइकल व्यवस्थापनका चुनौतीबारे छलफल गर्नेछन्।

नेपालमा विद्युतीय सवारीको संख्या बढेसँगै प्रयोगपछि ब्याट्रीको व्यवस्थापन, पुनःप्रयोग, रिसाइकलिङ तथा वातावरणीय प्रभाव महत्वपूर्ण विषय बन्दै गएको छ। संवादमा ब्याट्रीको सम्पूर्ण जीवनचक्र व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, प्रविधि, लगानी र नीतिगत व्यवस्थाबारे पनि छलफल हुनेछ।

त्यस्तै, पेट्रोलियम इन्धनमा इथानोल मिश्रणको सम्भावना, त्यसका प्राविधिक तथा आर्थिक चुनौती र नेपालका लागि आवश्यक नीतिगत व्यवस्थाबारे पनि विज्ञहरूले धारणा राख्नेछन्। इथानोल मिश्रणले इन्धन आयात, वातावरण तथा ऊर्जा सुरक्षामा पार्न सक्ने प्रभावलाई समेत छलफलको विषय बनाइएको छ।

नेपालको बदलिँदो मोबिलिटी क्षेत्रसँग प्रत्यक्ष जोडिएका यी दुई विषयमा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुने भएकाले संवादलाई अटोमोबाइल, ऊर्जा, वातावरण, प्रविधि तथा सार्वजनिक नीतिका क्षेत्रमा महत्वपूर्ण मानिएको छ।

कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालासँग सञ्चारकर्मीले प्रत्यक्ष अन्तरक्रिया गरी नेपालमा विद्युतीय सवारीको भविष्य, ब्याट्री व्यवस्थापन र वैकल्पिक इन्धनसम्बन्धी सम्भावना तथा चुनौतीबारे जानकारी लिन सक्नेछन्।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार