क्यासियोले ल्यायो स्मार्टवाचका सुविधा समेटिएको नयाँ स्मार्ट रिङ

  • Technology Khabar | १८ श्रावण २०८३, सोमबार
क्यासियोले ल्यायो स्मार्टवाचका सुविधा समेटिएको नयाँ स्मार्ट रिङ
च्याटजीपीटीको समयोगमा निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

क्यासियोले स्मार्टवाचका सुविधा समेटिएको सीआरडब्लू-एच००१एम-८ नाम गरेको नयाँ स्मार्ट रिङ सार्वजनिक गरेको छ।

हाल बजारमा रिङ, ब्रेसलेट र स्मार्टवाचजस्ता विभिन्न प्रकारका वेयरेबल उपकरण उपलब्ध भइरहेका बेला क्यासियोले परम्परागत घडीको डिजाइन र आधुनिक स्मार्ट रिङ प्रविधिलाई संयोजन गर्दै नयाँ उत्पादन ल्याएको हो।

क्यासियोले यसअघि पनि रिङ आकारका घडी बिक्री गर्दै आएको थियो, जसमा सानो जी-शक मोडल पनि समावेश छ। यी उपकरण औँलामा लगाइने भए पनि सानो आकारको क्यासियो डिजिटल घडीजस्तै देखिन्छन् र डिस्प्ले, स्टपवाच तथा क्यालेन्डरजस्ता सुविधा प्रदान गर्छन्।

नयाँ सीआरडब्लू-एच००१एम-८ मा भने स्मार्ट रिङका सुविधासमेत थपिएका छन्।

टेलिग्राफका अनुसार यो उपकरण सुरुमा चिनियाँ बजारमा करिब २९४ अमेरिकी डलर (स्थानीय करसहित) मा बिक्री सुरु हुनेछ।

यसमा रहेको सेन्सरले मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्राको अवस्था तथा शरीरको तापक्रम मापन गर्न सक्छ।

रिङ आकारको यो स्मार्टवाचले पाइला गणना गर्ने, क्यालोरी खर्चको अनुमान गर्ने सुविधा पनि प्रदान गर्छ। यसको ब्याट्री एकपटक चार्ज गर्दा करिब चारदेखि छ दिनसम्म चल्ने अपेक्षा गरिएको छ।

यस उपकरणमार्फत क्यासियोले आफ्ना परम्परागत घडीको डिजाइनलाई आधुनिक वेयरेबल प्रविधिसँग जोड्दै सानो आकारमा उन्नत सुविधा चाहने प्रयोगकर्तालाई लक्षित गरेको जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...