काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि १२ जना आवेदकको नाम सार्वजनिक गरेको छ।
मन्त्रालयले गत २०८३ असार ३१ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो। सूचनाअनुसार तोकिए बमोजिम न्यूनतम योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातहरुको आधारमा योग्य ठहरिएका आवेदकहरूको विवरण सार्वजनिक गरेको हो।
योग्य ठहरिएका आवेदकहरूमा अनन्त कान्त मैनाली (चितवन), अनिल बास्कोटा (काठमाडौं), अशोक कुमार घिमिरे (सुनसरी), पुष्पराज गिरी (सल्यान), बसन्त योगी (दाङ), भुवन प्रसाद आचार्य (पर्वत), मेघेन्द्र प्रकाश गिरी (बर्दिया), मेगराज खड्का (रुकुमपश्चिम), राम हरि कार्की (रौतहट), लक्ष्मण हुमागाईं (काभ्रेपलाञ्चोक), सन्तोष श्रेष्ठ (काठमाडौं) र सुजन राजा श्रेष्ठ (ललितपुर) रहेका छन्।
बोर्डको अध्यक्ष पदमा आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको व्यक्तिलाई प्राथमिकतामा राखिएको थियो।
त्यससँगै कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको, कुनै कानूनले अयोग्य नभएको हुनुपर्ने र स्नातकोत्तर वा सो भन्दा माथिको शैक्षिक योग्यता भएमा र सम्बन्धित क्षेत्रमा अतिरिक्त अनुभव भएमा प्राथमिकता दिइने प्रावधान राखिएको थियो।
बोर्ड के हो, के काम गर्छ?
सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रुपमा वितरण हुने गर्दछ।
विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवर्द्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा त्यसम्बन्धी व्यवसायलाई नियमन गर्दछ।
विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने, मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने लगायतका काम पनि विज्ञापन बोर्डलाई तोकिएको छ।
बोर्डले नेपाल सरकारका तर्फबाट सञ्चार माध्यमहरूलाई उपलब्ध गराइने लोककल्याणकारी तथा सार्वजनिक हितसम्बन्धी सम्पूर्ण विज्ञापनहरू यही बोर्डमार्फत तोकिएको मापदण्डका आधारमा समानुपातिक रूपमा वितरण हुने गर्दछन्। विज्ञापन वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन बोर्डको भूमिका महत्त्वपूर्ण मानिन्छ।
यसका साथै, मुलुकभित्र सञ्चालन हुने विभिन्न वस्तु वा सेवाको बजार प्रवर्द्धन, बिक्री–वितरण तथा प्रचार(प्रसारका लागि गरिने विज्ञापन र तत्सम्बन्धी समग्र व्यवसायलाई नियमन गर्ने कानुनी अधिकार पनि विज्ञापन बोर्डसँग सुरक्षित छ। सञ्चार र विज्ञापन बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने मुख्य जिम्मेवारी रहेको छ।
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार