काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले एमपावर बिलिङ प्रणाली अपडेट गर्न लागेकोले तीन दिनसम्म मिटर रिडिङ र नयाँ बिल जारी गर्ने सेवा प्रभावित हुने जनाएको छ।
प्राधिकरणका अनुसार नेपाल सरकारको निर्णयअनुसार विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न एमपावर (MPower) बिलिङ प्रणालीमा आवश्यक ‘प्याच अपडेट’ गर्न लागिएको हो।
यसका लागि साउन १ गतेदेखि ४ गतेसम्म एमपावर प्रणालीमार्फत हुने मिटर रिडिङ तथा नयाँ बिल बनाउने काम देशभरका वितरण केन्द्रमा अस्थायी रूपमा रोकिनेछ।
यसैगरी उक्त अवधिमा प्राधिकरणको विद्युत महसुल संकलन काउन्टर पनि बन्द हुने भएको छ।
तर, यसअघि जारी भइसकेका विद्युत महसुल भुक्तानीमा भने कुनै असर नपर्ने प्राधिकरणले सार्वजनिक सूचनामार्फत स्पष्ट पारेको छ।
सेवाग्राहीले मोबाइल बैंकिङ तथा अन्य डिजिटल माध्यमबाट विद्युत महसुल यथावत् तिर्न सक्नेछन्।
अद्यावधिक सम्पन्न भएपछि बिलिङ प्रक्रिया अझ व्यवस्थित, सहज र कानुनअनुकूल हुने विश्वास पनि प्राधिकरणले व्यक्त गरेको छ।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार