काठमाडौं ।
बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर–५ कुवाडी क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ।
नयाँ फोरजी टावर जडानसँगै वर्षौंदेखि सामान्य फोन सम्पर्क गर्न समेत कठिनाइ भोग्दै आएका स्थानीयवासी लाभान्वित भएका छन्।
नेपाल टेलिकमले नेटा र कुवाडीमा नयाँ फोरजी टावर स्थापना गरेपछि स्थानीयमा खुसी भएका हुन्। यसअघि नेटवर्कको अभावका कारण आपत्कालीन अवस्थामासमेत सञ्चार सम्पर्क गर्न समस्या हुने गरेको थियो।
अहिले भने फोरजी सेवा सञ्चालनमा आएपछि दैनिक जीवन, सूचना आदान–प्रदान तथा इन्टरनेट पहुँचमा उल्लेखनीय सहजता आएको स्थानीयहरुले बताएको रेडियो नेपालले उल्लेख गरेको छ।
नेपाल टेलिकम बाजुरा प्रमुख इन्जिनियर ईश्वर सिंह, टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर सुदर्शन आचार्य, प्रदीप साउँदसहितको प्राविधिक टोलीले नेटा र कुवाडीमा टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकम बाजुरा प्रमुख ईश्वर सिंहका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला लगायतका बस्तीमा समेत सेवा विस्तार भएको छ।
प्रकाशित: ३२ असार २०८३, बिहीबार