सरकारले एआईसम्बन्धित छुट्टै विधेयक ल्याउने योजना, दूरसञ्चार विधेयक सञ्चार मन्त्रालयको पहिलो प्राथमिकतामा

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
सरकारले एआईसम्बन्धित छुट्टै विधेयक ल्याउने योजना, दूरसञ्चार विधेयक सञ्चार मन्त्रालयको पहिलो प्राथमिकतामा

काठमाडौं ।

सरकारले नयाँ आर्थिक वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगका लागि छुट्टै नयाँ कानुनसहित १६६ ओटा विधेयकहरु ल्याउने तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी सरकारले सङ्घीय संसदमा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी हुन्।

सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एआई सम्बन्धित विधेयक, सूचना प्रविधि सम्बन्धित विधेयक तथा साइबर सुरक्षा सम्बन्धितलगायतका विधेयकहरुलाई दोस्रो प्राथिमकतामा राखेर ल्याउने तयारी गरेको छ।

उक्त विधेयकहरु मंसिरदेखि फागुनको बिचमा पेश गरिने कार्यालयको योजना छ।

यसैगरी सुचना तथा सञ्चार मन्त्रालयले समेत विभिन्न विधेयकहरु ल्याउने तयारी गरेको छ। जसमा सबैभन्दा महत्वपूर्ण दूरसञ्चार सम्बन्धित विधेयक रहेको छ। यसैगरी मिडिया काउन्सिल सम्बन्धित विधेयक, राष्ट्रिय आमसञ्चार सम्बन्धित विधेयक, हुलाक सम्बन्धित विधेयक, रासस विधेयक, गोरखापत्र सम्बन्धित विधेयक रहेका छन्।

यी विधेयकहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको छ र उक्त विधेयकहरु साउनदेखि कात्तिक महिना भित्र पेश गर्ने योजना रहेको छ।

यस्तै सरकारले गठन गरेको नयाँ मन्त्रालय अर्थात विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले पनि विभिन्न विधेयकहरु ल्याउने योजना रहेको छ।

जसअन्तरगत विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा बनेको विधेयक, नेपाल विज्ञान तथा प्रविधि तथा प्रज्ञा प्रतिष्ठान ऐन २०४८ लाई संसोधन गर्ने विधेयक, रसायनिक पदार्थ व्यवस्थापन सम्बन्धित विधेयक, प्लानेटेरियम वेधशाला र विज्ञान संग्राहलय सम्बन्धित विधेयक रहेका छन्। यी विधेयकहरुलाई मन्त्रालयले फरक फरक प्राथमिकतामा राखेको देखिन्छ।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार