काठमाडौं ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’मा वडा कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै ९० प्रतिशतभन्दा धेरै गुनासो आउने गरेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका जिज्ञासाको उत्तर दिँदै मन्त्री लम्सालले ठेकेदार कम्पनीले पनि भेण्डर (आपूर्तिकर्ता) र कामदारलाई भुक्तानी नदिएको विषयमा पनि धेरै गुनासा आउने गरेको स्पष्ट पारे।
“कन्स्ट्रयाक्टरले पनि भेण्डर र श्रमिकहरूलाई भुक्तानी नदिएको विषयमा पनि पर्याप्त गुनासा आउने गरेका छन्। कन्ट्रयाक्टरले भुक्तानी नदिएको खण्डमा आत्मदाह गर्नेसम्मको धम्की हामीसमक्ष आउने गरेका छन्”, उनले भने। मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर निर्माण क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न खोजेको स्पष्ट पारे।
“विगत आठ वर्षमा १९ हजारबाट ३२ हजार निर्माण व्यवसायी थपिएका छन्। निर्माण व्यवसायीमा ज्ञानको अभाव र निकै कम बोलकबोल गर्ने समस्या यथावत् नै छ”, उनले भने, “न्यून रकममा बोलकबोल गर्नाले अर्थतन्त्रमा ठूलो नोक्सानी देखिएको छ। जसको कारणले न्यून तलबभत्ता, मूल्यवृद्धिको अनुपातमा तलब पनि नबढेको देखिन्छ।”
मन्त्री लम्सालले निर्माण व्यवसायीले पनि विभिन्न आपूर्तिकर्ताहरूलाई नियमित भुक्तानी गर्न नसक्दा डुब्ने अवस्थामा आइपुगेको बताए। मन्त्री लम्सालले निर्माण व्यवसायी सप्लायर्स र परार्शदाता र सेवाग्राहीले पनि अतिरिक्त पैसा नदिनका लागि आह्वान गरेका छन्। “त्यसले तपाईँहरूलाई नै डुबाउँछ, कसैले माग्यो भने वा दिनुभयो भने भ्रष्टाचार कहिल्यै पनि सकिँदैन”, उनले भने।
आत्मदाहको घटनाले सरकारको ध्यानाकर्षण
मन्त्री लम्सालले फरक प्रसङ्गमा केही दिनअघिको आत्मदाहको घटनाले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। “यस्तो अवस्था कुनै ‘ट्रिगरिङ पोइन्ट’ले हुने गर्छ। तर, त्यसका पछाडि ठूलो र लामो कथा लुकेको हुन्छ”, उनले भने, “यो एउटा प्रतिनिधिमूलक घटना हो। यसका पछाडिका कारण धेरै हुनसक्छन् जस्तै आर्थिक अवस्था, न्याय नपाएको अवस्था, समाजिक विकृति आदिले गर्दा हुन्छ।”
महानगर प्रहरीलाई सान्त्वना
मन्त्री लम्सालले काठमाडौँ महानगरको नगर प्रहरीहरू मनोबल नघटाउन आह्वान गरेका छन्। “हजुरहरूको कारणले गर्दा कयौँ एम्बुलेन्स छिटो अस्पताल पुग्ने गरेका छन्, कयौँको ज्यान बचाउनुभएको छ”, उनले भन्नुभयो, “आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोला।’’
मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले पनि आशावादी रहनका लागि नगरप्रहरीलाई आग्रह गरे।
प्रकाशित: ३० असार २०८३, मंगलवार