काठमाडौं ।
ईमेलमार्फत बारम्बार अश्लील तथा अपमानजनक सन्देश पठाई एक महिलामाथि मानसिक तनाव सिर्जना गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राऊ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेको बुझिएको छ। उनलाई साइबर ब्युरोको टोलीले असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
ब्युरोका अनुसार पीडित महिलाले इमेलमा लगातार अश्लील र अपमानजनक सन्देश प्राप्त भएको तथा त्यसबाट आफूलाई दुःख, हैरानी र मानसिक तनाव पुगेको भन्दै कारबाहीको मागसहित निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिको पहिचान गरिएको हो।
खनालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित: २९ असार २०८३, सोमबार