काठमाडौं ।
दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र (लाइसेन्स) र फ्रिक्वेन्सी स्वीकृति बिना अनधिकृत रूपमा दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन वा प्रयोग नगर्न सर्वसाधारण, उपभोक्ता तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
प्राधिकरणले हालै एक सार्वजनिक सूचना जारी गर्दै नेपालभित्रका केही दुर्गम तथा हिमाली पर्यटकीय क्षेत्रमा नियमानुसार अनुमति नलिई विभिन्न प्रविधिमार्फत दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन तथा प्रयोग भइरहेको जानकारी प्राप्त भएकाले यस्तो चेतावनी जारी गरिएको जनाएको हो।
दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम प्राधिकरणबाट अनुमति पत्र नलिई कुनै पनि प्रकारको दूरसञ्चार सेवा सञ्चालन गर्नु वा त्यस्तो सेवा प्रयोग गर्नु गैरकानुनी तथा दण्डनीय कार्य हो।
यसै सन्दर्भमा बुझ्दा प्राधिकरणका सहप्रवक्ता डा प्रदिप पौडेलले टेक्नोलोजीखबरलाई भने, ‘यही भेगमा र यसै प्रकारको प्रविधि प्रयोग गरेको खुलेको छैन, तर जनताले थाहा नपाई कुनै अनधिकृत तवरले यस्ता सेवा चलाएको खण्डमा दण्ड सजाय हुने भएकाले नियामकले बेला बेला यसो नगर्नू है भनेर सचेत गराइरहनु पर्छ। यसै हिसाबले हामीले देशभरका सबै व्यक्तिलाई सचेत भएर नियमसंगत रुपमा मात्र यस्ता सेवा प्रयोग गर्न सुझाएका हौं।’
हाल स्याटेलाइटमार्फत् यस्ता सेवा उपलब्ध गराउने विभिन्न स्वदेश तथा विदेशी सेवा प्रदायकहरुबारे विभिन्न चर्चाम परिचर्चा चलिरहेकाले कुनै यस्तै सेवा प्रदायककै संलग्नता त होइन? भन्ने जिज्ञासामा सहप्रवक्ता पौडेलले अन्दाज त जे गरे पनि हुने तर नाम नै तोकेर यही सेवा प्रदायकको अनधिकृत सेवा चलाएको भन्दा पनि लहैलहैमा लागेर यस्ता सेवा नचलाउनका लागि सचेतना बढाउन सूचना प्रकाशन गरेको बताए।
प्राधिकरणले आफ्नो स्वीकृतिविना कुनै पनि दूरसञ्चार वा इन्टरनेट सेवा सञ्चालन वा प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुनबमोजिम सम्बन्धित उपकरण जफत गरी कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
विशेषगरी दुर्गम र हिमाली पर्यटकीय क्षेत्रमा निजी वा व्यावसायिक प्रयोजनका लागि सञ्चार सेवा सञ्चालन गर्ने व्यक्ति तथा संस्थालाई प्राधिकरणले कानुनी प्रक्रिया पूरा गरी मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
एनटीएले सबै सरोकारवाला तथा उपभोक्तालाई अनुमति प्राप्त सेवा प्रदायकको सेवा मात्र प्रयोग गर्न र अनधिकृत दूरसञ्चार वा इन्टरनेट सेवा सञ्चालन तथा प्रयोगबाट टाढा रहन अनुरोध गरेको छ।
प्रकाशित: २९ असार २०८३, सोमबार