नबिल बैंकले कमायो पौने ७ अर्ब खुद नाफा: बैंक एआईको युगमा प्रवेश गरेको अध्यक्ष चौधरीको भनाई

  • Technology Khabar | २८ असार २०८३, आईतवार
नबिल बैंकले कमायो पौने ७ अर्ब खुद नाफा: बैंक एआईको युगमा प्रवेश गरेको अध्यक्ष चौधरीको भनाई

काठमाडौं ।

नबिल बैंकले २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ मा बैंकको कुल नेटवर्थ रु. २ करोड ८० लाख र खुद नाफा रु. १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ रु. ७० अर्ब ८३ करोड  र खुद नाफा रु. ६ अर्ब ७६ करोड पुगेको हो।

सुरुआती चरणमा बैंकको निक्षेप संकलन रु. १४ करोड ६० लाख मात्र रहेकोमा हाल बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह पनि रु. १३ करोड ३० लाखबाट बढेर रु. ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ। कुल सम्पत्ति पनि रु. २६ करोड ९० लाखबाट बढेर रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ।

यो आँकडा बैंकले आज सम्पन्न आफ्नो वार्षिकोत्सवका क्रममा जानकारी गराएको हो।

बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारिएको बताएको छ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे। विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको र त्यो विश्वास भएको उनले बताए।

अध्यक्ष चौधरीले भने, ‘आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ।’

उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैं त्यसको नेतृत्व गरेको बताए।

‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौं। ‘एनबैंक’ एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौं, अध्यक्ष चौधरीले भने, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौं। आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनए मै छ।’

अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरे। एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने, ‘यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं। हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं। हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड ।’

बैंकका अनुसार ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको छ। देशको आर्थिक विकासका लागि रणनीतिक र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै लगेको बैंकले हालसम्म निम्न क्षेत्रमा कर्जा लगानी गरेको छ।

–कृषि क्षेत्रः रु. ५३ अर्ब ३१ करोड
–ऊर्जा क्षेत्रः रु. ५१ अर्ब ६ करोड
–लघु, घरेलु, साना तथा मझौला उद्योगः रु. ४५ अर्ब ९२ करोड
–पर्यटन क्षेत्रः रु. ११ अर्ब, १० करोड

प्रकाशित: २८ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...