एप्पलले किन हाल्यो ओपनएआईविरुद्ध मुद्दा?

  • Technology Khabar | २९ असार २०८३, सोमबार
एप्पलले किन हाल्यो ओपनएआईविरुद्ध मुद्दा?
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले व्यापारिक गोप्य सूचना चोरी र सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै शुक्रबार ओपनएआईविरुद्ध मुद्दा दायर गरेको छ।

आइफोन निर्माता एप्पलले यस घटनाले पहिले एप्पलमा काम गरेका र पछि ओपनएआईमा गएका कर्मचारीमार्फत व्यापारिक गोप्य सूचना चोरी भएको देखाएको दाबी गरेको छ। कम्पनीका अनुसार यसमा ओपनएआईका प्रमुख हार्डवेयर अधिकृत ट्याङ टानसहित वरिष्ठ नेतृत्वको संलग्नता रहेको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा टानले ओपनएआईको कर्मचारी भर्ना प्रक्रियाका क्रममा एप्पलका गोप्य परियोजनाका कोड नाम प्रयोग गरेको, अन्तर्वार्तामा आउने उम्मेदवारलाई एप्पलका हार्डवेयर कम्पोनेन्ट ल्याउन आग्रह गरेको, कम्पनी छोड्ने कर्मचारीलाई एप्पलका सुरक्षा प्रक्रिया छल्न सिकाएको तथा सार्वजनिक नगरिएका उत्पादनबारे जानकारी मागेको आरोप लगाइएको छ।

ओपनएआईमा जानुअघि टानले एप्पलमा २४ वर्ष काम गरेका थिए। उनी अन्तिम पटक आइफोन र एप्पल वाचको उत्पादन डिजाइन विभागका उपाध्यक्ष थिए।

यी आरोप यस्तो समयमा आएका छन्, जब ओपनएआईले आफ्नो पहिलो हार्डवेयर उत्पादन विकास गरिरहेको चर्चा छ। यो उत्पादन आइफोनसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताइएको छ।

अप्रिलमा उद्योग विश्लेषक मिङ–ची कुओले यो एआई एजेन्टमा आधारित स्मार्टफोन हुन सक्ने अनुमान गरेका थिए। यदि त्यसो भयो भने, यो एप्पलको मुख्य हार्डवेयर व्यवसायका लागि अहिलेसम्मकै ठूलो चुनौती हुन सक्छ।

एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभको उपकरण स्टार्टअप ‘io’ लाई ओपनएआईले गत वर्ष ६.५ अर्ब डलरमा खरिद गरेको थियो। मुद्दामा ‘io’ को नाम उल्लेख भए पनि आइभलाई प्रतिवादी बनाइएको छैन।

मुद्दामा ओपनएआईका अर्का कर्मचारी चाङ लिउको पनि उल्लेख छ। एप्पलका अनुसार आठ वर्षसम्म वरिष्ठ सिस्टम्स इलेक्ट्रिकल इन्जिनियर रहेका लिउले सन् २०२६ मा ओपनएआईमा जानुअघि कम्पनीले दिएको ल्यापटप फिर्ता नगरेको र त्यसबाट एप्पलका गोप्य प्राविधिक कागजात डाउनलोड गरेको आरोप छ।

एप्पलका अनुसार ती कागजातमा सार्वजनिक नगरिएका प्रविधि, फिचर र उत्पादनसँग सम्बन्धित प्राविधिक विवरण, इन्जिनियरिङ प्रस्तुति तथा स्वामित्वयुक्त परियोजनाको जानकारी समावेश थियो।

लिउले ओपनएआईमा जागिरका लागि आवेदन दिएका अन्य एप्पल कर्मचारीसँग पनि गोप्य जानकारी साझा गरेको र कम्तीमा एक जनालाई अन्तर्वार्ताअघि के अध्ययन गर्ने भनेर सुझाव दिएको आरोप लगाइएको छ।

एप्पलले फेब्रुअरीमै आफ्ना चिन्ता व्यक्त गर्दै ओपनएआईलाई पत्र पठाएको भए पनि कुनै जवाफ नआएको मुद्दामा उल्लेख गरिएको छ।

रोयटर्सका अनुसार कम्पनीले यी पूर्व कर्मचारीको गतिविधि ओपनएआईको रणनीतिको हिस्सा भएको दाबी गरेको छ। यसअन्तर्गत एप्पलका कर्मचारीलाई अन्तर्वार्तामा डिजाइन, प्रोटोटाइप तथा कम्पोनेन्ट र आपूर्तिकर्ता छनोट प्रक्रियासम्बन्धी जानकारी ल्याउन वा बताउन आग्रह गरिएको आरोप छ।

एप्पलले आफ्नो अनुसन्धानबाट ओपनएआई र उसका साझेदारहरूले आफ्नै हार्डवेयर उत्पादन विकासका क्रममा एप्पलको गोप्य जानकारी प्रयोग गरेको प्रमाण फेला परेको दाबी गरेको छ। मुद्दामा ओपनएआईले एक साझेदारलाई एप्पलको अनुमति रहेको विश्वास दिलाएर एप्पलको स्वामित्वयुक्त धातु फिनिसिङ प्रविधि प्रयोग गरेको आरोप पनि लगाइएको छ।

एप्पलले अदालतसँग ओपनएआईलाई आफ्ना व्यापारिक गोप्य सूचना प्रयोग वा सार्वजनिक गर्न रोक लगाउन, एप्पलका सबै गोप्य सामग्री फिर्ता गर्न र मुद्दासम्बन्धी प्रमाण सुरक्षित राख्न आदेश दिन माग गरेको छ।

मुद्दामा भनिएको छ, “यो त हिमशिलाको माथिल्लो भाग मात्र हो। बन्द ढोकाभित्र ओपनएआईमा के भइरहेको छ भन्नेबारे एप्पलसँग पर्याप्त जानकारी छैन। त्यहाँ यस्ता गतिविधिलाई नेतृत्वकै तहबाट सामान्य बनाइएको छ। यसको परिणामस्वरूप ओपनएआईको हार्डवेयर व्यवसाय अवैध रूपमा प्राप्त व्यापारिक गोप्य सूचनामाथि आधारित कमजोर जगमा उभिएको छ।”

एप्पलले विज्ञप्तिमा आफ्ना टोलीले विश्वस्तरीय उत्पादन र सेवा विकास गर्न निरन्तर नयाँ प्रविधि विकास गरिरहेको र आफ्नो बौद्धिक सम्पत्तिको सुरक्षा अत्यन्त गम्भीर विषय भएको जनाएको छ। कम्पनीका अनुसार हालै ओपनएआईमा कार्यरत केही व्यक्तिले सार्वजनिक नगरिएका प्रविधि, प्रक्रिया र उत्पादनसम्बन्धी एप्पलका गोप्य जानकारी अनुचित रूपमा लिएको प्रमाण भेटिएको छ। कम्पनीले आफ्ना कर्मचारीको मेहनत र नवप्रवर्तनको सधैं रक्षा गर्ने र त्यसका लागि आवश्यक सबै कदम चाल्ने जनाएको छ।

ओपनएआईले भने प्रतिक्रिया मागिएपछि एक्समा सार्वजनिक गरेको आफ्नो वक्तव्यलाई उद्धृत गर्दै आफूलाई अन्य कम्पनीका व्यापारिक गोप्य सूचनामा कुनै रुचि नभएको र विश्वभरका मानिसलाई सशक्त बनाउने नवीन प्रविधि विकासमै केन्द्रित रहेको जनाएको छ।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...