काठमाडौं ।
सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ। रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो।
लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ।
‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ।’’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘‘उनले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ। हामी अनुसन्धानमै छौँ।’’
मोटरसाइकलमा घर जाँदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उहाँले बताए।
घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ। रासस
प्रकाशित: २५ असार २०८३, बिहीबार